काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। बुधवार तीन नेताबीच २७ गते संसद्मा हुने मतदानका विषयमा हात्तीवनस्थित एक घरमा कुराकानी भएको हो। उनीहरुबीच केपी ओलीलाई सत्ताबाट निकाल्ने विषयमा छलफल भएको स्रोतको दाबी छ।
ओलीले लिने विश्वासको मतलाई कसरी असफल पार्ने र गठबन्धनको नयाँ सरकार निर्माणका विषयमा छलफल केन्द्रित थियो। सोहीक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले नयाँ गठबन्धन सरकार निर्माणका लागि आफ्नो पार्टीबाट २५ जनासम्म सांसद तयार पार्ने आश्वासन दिएका छन्।
‘छलफल मुख्यतः २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले लिने भनेको विश्वासको मतलाई कसरी असफल पार्ने भन्नेमा केन्द्रित थियो,’ स्रोतले भन्यो, ‘त्योसँगै नयाँ सरकार गठनका लागि के-के गर्न सकिन्छ भन्नेबारे छलफल भयो। उपेन्द्रजीले हामी अधिकतम सांसद ल्याउन सक्छौं, जसपाबाट २५ जनासम्म सांसद नयाँ सरकार बनाउन तयार पार्छौं भन्ने आश्वासन दिनुभएको छ।’
नयाँ गठबन्धन निर्माणका लागि आ-आफ्नो पार्टीभित्र सघन छलफल गर्ने र २७ गतेका लागि आवश्यक संयुक्त निर्णय लिन तयार हुनेबारे समेत बैठकमा छलफल भएको बुझिएको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिने निर्णय गरेपछि राष्ट्रपतिले सोही प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधि सभाको विशेष अधिवेशन डाकेकी छन्।



लोकपाटी न्यूज

