संशोधनवाद ढल्दैछ, वैज्ञानिक समाजवादको विकल्प छैन : माेहन वैद्य

Mohan Baidya
लोकपाटी न्यूज

काठमाडौं। नेकपा क्रान्तिकारी माओवादीले अहिले नेपालमा कम्युनिस्टको नाममा घोर प्रतिक्रियावादी सरकार सत्तासीन रहेको आरोप लगाएको छ। पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले कार्ल मार्क्सको २०३ औँ जन्म दिवसको अवसरमा एक वक्तव्य जारी गरेर देशमा जनतन्त्र, जनजीविका तथा राष्ट्रिय स्वाधीनताका समस्या गम्भीर बन्दै गएको पनि बताए।

विज्ञप्तिमा भनिएको छ, ‘जताततै कोभिड-१९ महामारीले जनतालाई आक्रान्त बनाएको बेला कम्युनिस्ट नामधारी ओली सरकारले जनताको उपचार गर्न नसक्ने घोषणा गरेर आफ्नो प्रतिक्रियावादी सार अनुसारको रुप देखाएको छ।’ आफूहरु प्रतिक्रियावाद र सबै खाले संशोधनवादसित संघर्ष गरिरहेको उनले उल्लेख गरेका छन्।

नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको स्थापना र साम्यवादको महान् उद्देश्य प्राप्तिका लागि आफूहरु अगाडि बढिरहेको वैद्यले बताए। उनले मार्क्सले देखाएको युगान्तकारी परिवर्तनको बाटोमा दृढताका साथ अगाडि बढ्न सम्पूर्ण पार्टी पंक्ति तथा आम उत्पीडित जनतामा आह्वान समेत गरे।

प्रेस-वक्तव्य

मई ५ तदनुसार आज वैशाख २२ गते कार्ल मार्क्सको २०३औँ जन्म दिवस हो । विश्व सर्वहारा वर्गका महान् नेता कार्ल मार्क्स ५ मई १८१८ का दिन जर्मनीको एउटा सानो सहर ट्रियरमा जन्मनु भएको थियो । उहाँ मार्क मार्क्सवादका प्रवर्तक तथा साम्यवादी क्रान्तिका महान् शिक्षक हुनुहुन्छ। उहाँले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन वटै क्षेत्रको समष्टिगत विकास गरी मार्क्सवादको प्रतिपादन गर्नुभयो। मार्क्सवाद विश्व सर्वहारा क्रान्ति र आम उत्पीडित जनताको संघर्षको दर्शन हो। आज मार्क्सवाद, मार्क्सवाद-लेनिनवाद-माओवादमा विकास भएको छ। यो हाम्रो पार्टीको मात्र नभएर विश्व सर्वहारा क्रान्तिको पथप्रदर्शक सिद्धान्त हो।

मार्क्सवादको प्रादुर्भावसँगै संशोधनवादको पनि जन्म भएको छ। विभिन्न रूप र रङ्गका संशोधनवादीहरुले विश्वव्यापी रूपमा मार्क्सवादमाथि भीषण हमला गर्दै आएका छन्। रुस, चीन लगायतका देशहरूमा भएका प्रतिक्रान्तिका घटनालाई देखाएर संसारभरिका प्रतिक्रियावादीहरूले मार्क्सवाद असफल भएको र साम्यवाद ढलेको भन्ने एकोहोरो प्रचारबाजी गर्दै आएका छन् । प्रतिक्रान्तिको कारण मार्क्सवादको असफलता होइन, मार्क्सवादको नाममा संशोधनवादको असफलता हो । वर्तमान विश्वमा साम्राज्यवादी नवउदारवाद भयावह संकटको भुमरीमा फस्दै गएको छ र विश्वमा १९३० को जस्तै आर्थिक संकट आउँदैछ भनेर विभिन्न अर्थशास्त्रीहरुले भन्दै आएका छन् । यस प्रकारको संकटको समाधान पुँजीवादमा छैन । संकट समाधानको एक मात्र उपाय वैज्ञानिक समाजवाद हो । विश्वव्यापी रूपमा समाजवादी क्रान्तिको आवश्यकता र मार्क्सवाद प्रतिको आकर्षण झनै बढिरहेको छ ।

गएको दुई वर्षदेखि पुरा विश्वलाई कोभिड-१९ महामारीले गाँजेको छ । यो महामारी अति मुनाफाका लागि नवउदारवादी साम्राज्यवादले प्रकृतिमाथि गरेको अनियन्त्रित दोहनका कारण पैदा भएको पर्यावरणीय असन्तुलनको अनिवार्य परिणाम हो । यसलाई वैज्ञानिकहरूले तथ्य सहित पुष्टि गरेका छन् । कोभिड-१९ महामारीले पुरा विश्वलाई नै डरलाग्दो गरी लपेटेको बेला साम्राज्यवादी लुटेराहरूको ध्यान भने महामारी नियन्त्रण र जनताको जीवन रक्षा भन्दा पनि खोपको उत्पादनबाट अकुत सम्पत्ति कमाउने तिर केन्द्रित भएको छ । साम्राज्यवादीहरुले महामारी निमन्त्रणमा होइन विश्वमा आफ्नो वर्चश्व स्थापित गर्नका लागि सैन्य खर्चमा प्रतिस्पर्धा गरेका छन् ।

कोभिडबाट संक्रमित कैयौं जनताहरू अक्सिजनको अभावमा सासफेर्न नपाएर अस्पतालमा लासपरेका बेला साम्राज्यवादी लुटेरा र तिनका कठपुतली शाषकहरुले २०२०मा विश्वको सैन्य बजेट २.६ प्रतिशतले बढाएर १९ खरब ८१ अरब डलर पुर्‍याएका छन्। साम्राज्यवादीहरूको ध्यान कहाँ केन्द्रित छ भन्ने कुरा यसले स्पष्ट गर्दछ । साम्राज्यवाद नै सबै समस्याको कारण हो र यसबाट वर्तमान आर्थिक र स्वास्थ्य संकटको समाधान हुँदैन । समस्याको समाधान मार्क्सवाद-लेनिनवाद-माओवादको मार्ग निर्देशनमा हुने विश्व समाजवादी क्रान्ति हो ।

अहिले नेपालमा कम्युनिस्टको नाममा घोर प्रतिक्रियावादी सरकार सत्तासीन छ। देशमा जनतन्त्र, जनजीविका तथा राष्ट्रिय स्वाधीनताका समस्या गम्भीर बन्दै गएका छन्। जताततै कोभिड-१९ महामारीले जनतालाई आक्रान्त बनाएको बेला कम्युनिस्ट नामधारी ओली सरकारले जनताको उपचार गर्न नसक्ने घोषणा गरेर आफ्नो प्रतिक्रियावादी सार अनुसारको रूप देखाएको छ । हामी प्रतिक्रियावाद र सबै खाले संशोधनवादसित संघर्ष गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको स्थापना र साम्यवादको महान् उद्देश्य प्राप्तिका लागि अगाडि बढिरहेका छौं।

आज हामीले विश्व सर्वहारा वर्गका महान् नेता कार्ल मार्क्सको स्मरण गरिरहेका छौं। विश्वभरिका प्रतिक्रियावादी शासकहरू तथा सबै खाले संशोधनवादका विरुद्ध निर्मम संघर्ष गर्नु र नयाँ जनवादी क्रान्तिको दिशामा अगाडि बढ्नुमा नै कार्ल मार्क्सका ऐतिहासिक तथा युगान्तकारी योगदानहरूको पुनः संस्मरण र मार्क्सवादप्रति निष्ठा जाहेर गर्नुको सार्थकता निहित छ। यस अवसरमा हाम्रो पार्टी नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई समृद्ध तुल्याउँदै र सच्चा कम्युनिस्टहरूलाई एकताबद्ध तथा ध्रुवीकृत गर्दै मार्क्सले देखाएको युगान्तकारी परिवर्तनको बाटोमा दृढताका साथ अगाडि बढ्न सम्पूर्ण पार्टी पङ्क्ति तथा आम उत्पीडित जनतामा हार्दिक आह्वान गर्दछ।