काठमाडौं।नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसद् पुनः स्थापनापछि नैतिकताका आधारमा राजीनामा नदिएकोसहित ७ आरोप लगाएको छ। बुधवार बिहान संसद् सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाउँदै माओवादी केन्द्रले ७ आरोप लगाएको हो।
संविधान मिचेर प्रधानमन्त्री ओली निरंकुश बाटोमा लागेको माओवादी केन्द्रले बताएको छ। राजनीतिक नैतिकताको धज्जी उडाएको, राजनीतिलाई फोहोरी खेलको रूपमा निकृष्ट ढङ्गबाट सञ्चालन गरेको, जनादेश विपरीत सामाजिक न्याय सहितको समृद्धि एवं समाजवादको आधार निर्माण गर्ने लक्ष्यलाई ध्वस्त बनाएको लगायतका आरोप लगाएको छ।
प्रधानमन्त्रीमाथि माओवादी केन्द्रले लगाएका आरोपहरूः
१. प्रतिनिधिसभा पुनः स्थापना भइसकेपछि नैतिकताका आधारमा राजीनामा नदिएर ओली नेतृत्वको सरकारले संविधानको ठाडो उल्लंघन गरी प्रतिगामी योजना अघि बढाइरहेको
२. लोकतान्त्रिक मूल्य मान्यता एवं राजनीतिक नैतिकताको धज्जी उडाउँदै राजनीतिलाई सत्ताको फोहोरी खेलको रूपमा निकृष्ट ढङ्गबाट सञ्चालन गरिरहेको
३. निर्वाचनमा जनताले दिएको जनादेशविपरित सामाजिक न्यायसहितको समृद्धि एवं समाजवादको निर्माण गर्ने लक्ष्यलाई ध्वस्त बनाएको
४. नेपाली कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत बनाउने उद्देश्यका साथ विसर्जनवादी आक्रमण गरेको
५. कोरोनाको दोस्रो लहरसँग जुझ्ने सन्दर्भमा नालायकी एवं असक्षमता प्रदर्शन गरेको
६. राष्ट्रियताको मुद्दालाई सौदावाजीको विषय बनाइ देशलाई बाह्य शक्तिको क्रिडास्थल बनाउँदै लगेको
७. लोकतान्त्रिक र संसदीय मान्यताविपरित अध्यादेशबाट शासन चलाउने निरंकुश अभ्यासतिर उद्दत हुँदै गइरहेको



लोकपाटी न्यूज

