बुढानीलकण्ठमा काँग्रेसको पदाधिकारी बैठक जारी, के आउला निर्णय ?

लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका प्रभावशाली नेताहरूको बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसिरहेको छ। बैठकमा पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरूको सहभागी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमबारे रणनीति बनाउन काँग्रेस पदाधिकारीहरू आन्तरिक छलफलमा जुटेका हुन्। प्रधानमन्त्री ओलीले एक्कासि विश्वासको मत लिनका लागि संसद्को विशेष अधिवेशन आह्वान गरेपछि गरेपछि भावी रणनीति तय गर्न सभापति देउवाले बैठक बोलाएका हुन्।

बैठकमा आकस्मिक रूपमा बोलाइएको संसद् अधिवेशन र प्रधानमन्त्रीले विश्वासको मत लिने कदमका विषयमा छलफल भइरहेको काँग्रेसका एक नेताले जानकारी दिए। ओलीलाई विश्वासको मत लिनबाट रोक्ने र नयाँ सरकार गठन गर्ने विषयमा समेत छलफल भइरहेको ती नेताको भनाई छ।

यसअघि सरकारको नेतृत्व गर्न माओवादी केन्द्र र माधव नेपाल पक्ष गर्दै आएको आग्रहलाई देउवाले बेवास्ता गर्दै आएका थिए। ओलीले विश्वासको मत लिने निर्णय गरेपछि सोमबार देउवा र प्रचण्डबीच टेलिफोनमा कुराकानी भएको स्रोतको दाबी छ। उनीहरुबीच ओलीलाई कसरी सत्ताबाट निकाल्ने भन्ने विषयमा छलफल केन्द्रित थियो।

यता नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ। बैठकमा विश्वासको मत लिने ओलीको कदमबारे छलफल भइरहेको बुझिएको छ। गत सोमबार आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बोलाएर ओलीले विश्वासको मत लिने जानकारी गराएका थिए। ओलीको सिफारिसअनुसार वैशाख २७ गते संसद् अधिवेशन पनि आव्हान भइसकेको छ।