सांसदकाे सामूहिक राजीनामा दिने कुरा हल्लामात्र हो : सुरेन्द्र पाण्डे

surendra-pandey
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले सांसदबाट सामूहिक राजीनामा दिने कुरा हल्लामात्र भएको बताएका छन्। नेकपा एमालेको माधव नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिने हल्ला चलिरहेको बेला नेता पाण्डेले यस्तो बताएका हुन्। नेता पाण्डेले भने, ‘म घरमै छु मलाई यस्तो केहिपनि थाह भएन यो सबै हल्लामात्र हुन्।’

प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय गरेसँगै नेपाल समूहका सांसदले छलफललाई तीब्रता दिइरहेका छन्। नेपाल समूहले २७ गतेअघि गम्भीर निष्कर्ष निस्कन सक्ने बताएको छ। एक सांसदका अनुसार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने वा कांग्रेस–माओवादी गठबन्धनलाई सघाउनेबारे छलफललाई तीव्रता दिइरहेका छन्।ती सांसदले नेपाल समूह पार्टीमा रहने/नरहने तय गर्ने मोडमा पुगेको समेत जानकारी दिए।

हाल प्रतिनिधिसभामा सभामुखसहित २६७ सांसदको बहुमतका लागि १३४ चाहिन्छ। कांग्रेसको ६१, माओवादीको छक्कवहादुर लामासहित ५० र उपेन्द्र बाबुराम पक्षको कम्तीमा १६ सांसद हुने अनुमान छ। त्यस्तै राष्ट्रिय जनमोर्चाको एक भोट पनि विपक्षी गठबन्धनमा जानेछ।

त्यति हुँदा पनि १२९ सिटमात्र हुन्छ। ओलीविरुद्ध अविश्वास प्रस्ताव आएको भए माधव पक्षले फ्लोर क्रस गरेर मत दिँदा सरकार ढल्थ्यो। माधव पक्षका सांसदहरूमाथि त्यसपछिमात्र कारवाही हुँदा कम्तीमा ओलीको साटो शेरबहादुर देउवाको नेतृत्वको सरकारले चुनाव गराउँथ्यो।

अविश्वास प्रस्तावअघि नै प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि फ्लोर क्रस गरेर पद गुमाउनुभन्दा सामूहिक राजीनामा दिएर ओलीलाई अल्पमतमा पारेर सत्ताच्यूत गर्नु उपयुक्त हुने विकल्पमा छलफल भइरहेको माधव पक्षका एक नेताले बताए। आजको मितिमा माधव नेपाल पक्षसँग कम्तीमा ३० जना सांसद छन्। सर्वोच्च अदालतबाट एमाले ब्युँतिएको दिनसम्म नेपाल पक्षमा ४१ जना सांसद थिए। अदालतको फैसला लगत्तै ११ सांसदले संस्थापन पक्ष रोजे।