काठमाडौं। पार्टीभित्र बहुमतको रस्साकस्सी चलिरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गराउन थालेका छन्। पार्टीभित्र अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग बहुमतको लडाइँ चलिरहेका बेला ठाकुरले केन्द्रीय कार्यकारिणी समिति सदस्य र सांसदको हस्ताक्षर संकलन गरेका छन्।
अध्यक्ष ठाकुरले खाली कागजमा उनीहरूको हस्ताक्षर संकलन गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने निर्णय गरेसँगै जसपामा पूर्वराजपा र पूर्वसमाजवादी धारबीच शक्ति संघर्ष चर्केको छ। प्रधानमन्त्री ओलीलाई निरन्तरता दिने कि तत्काल हटाउने भन्ने विषयमा ध्रुवीकरण बढिरहेका दुई पक्षले हस्ताक्षर संकलन गरेको चर्चा राजनीतिक वृत्तमा छ।
केन्द्रमा ओली र प्रदेशमा उनीनिकट मुख्यमन्त्री हटाउन जसपा अध्यक्ष उपेन्द्र यादव पक्ष बिनासर्त लागिरहेको छ। अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष भने ओलीलाई सहयोग गर्ने पक्षमा देखिएको छ। प्रधानमन्त्री ओलीले संसद्मा राख्ने विश्वासको प्रस्तावमा समेत पार्टीभित्र एकता नहुने सम्भावना बढेपछि दुवै पक्ष बहुमत पुर्याउने होडमा जुटेका छन्। आ-आफ्नो पक्षमा निर्णय गराउन र कारबाहीको डन्डा चलाउन दुवै पक्ष पार्टीको केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलमा बहुमत जुटाउने कसरत गरिरहेको बुझिएको छ।
सोहीक्रममा जुनसुकै बेला पनि आवश्यक कदम चाल्न पर्ने अवस्था आउन सक्ने भएकोले हस्ताक्षर संकलन भइरहेको जसपा अध्यक्ष ठाकुर निकट स्रोतको बतायो। कुनै प्रयोजन नखुलाईकन हस्ताक्षर गर्न लगाइएको पूर्वराजपा पक्षधर एक कार्यकारिणी सदस्यले बताए। ‘उपेन्द्र र बाबुरामले गरेको सिको हामीले गर्नु गलत थियो। पार्टी जोगाउनका लागि केही पहलसमेत भएन,’ ती कार्यकारिणी सदस्यले भने, ‘अब हाम्रो हस्ताक्षर सरकारको समर्थनका लागि दिएमा नौलो हुँदैन। पार्टी त अब एक रहनै मुस्किलजस्तो देखिएको छ।’
ठाकुर र महतोले आफूनिकट सांसद र कार्यकारिणी सदस्यलाई काठमाडौंसमेत बोलाएका छन्। जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिका रेसम चौधरी जेलमा छन्। ५० सदस्य कायम रहेको कार्यकारिणी समितिमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवसँग प्रस्ट बहुमतमा देखिएको छ। पूर्वराजपा धारका तीन सदस्यले यादव पक्षलाई साथ दिएपछि केन्द्रीय कार्यकारिणी समितिमा ठाकुर पक्ष अल्पमतमा परेको हो। तर, ठाकुर पक्षले केही दिनभित्रै केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैमा आफ्नो पक्षको बहुमत पुर्याएरै छाड्ने दाबी गरेको छ।



लोकपाटी न्यूज

