काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले जिल्लामा रहेका आफ्ना सांसदलाई काठमाडौं आउन निर्देशन दिएको छ। जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षले आफू निकट सांसद र कार्यकारिणी सदस्यहरूलाई काठमाडौं नछाड्न र जिल्लामा रहेका लागि काठमाडौं आउन निर्देशन दिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिन संसद्को विशेष अधिवेशन आह्वान भएको अवस्थामा काठमाडौंमै बस्न भनिएको हो। जसपामा सरकारलाई समर्थन गर्ने कि गर्ने भन्ने विषयमा दुई धार देखिएको छ। सरकारलाई समर्थन गर्ने विषयमा थप रणनीति बनाउन ठाकुर-महतो पक्षको व्यस्तता एकाएक बढेको छ। जसपा नेता मनिष सुमनले भने, ‘मलाई पनि म्यासेज प्राप्त भएको छ।’
केपी ओलीसँग नरम देखिएको जसपा (ठाकुर-महतो पक्ष)ले कार्यकारिणी समितिका सदस्य र सांसदहरूको हस्ताक्षर संकलन पनि सुरु गरेको बताइएको छ। जसपाका एक नेताले भने, ‘प्रदीप पाठकजीले मलाई फोन गर्नुभएको थियो, कहाँ हुनुहुन्छ सोध्नुभयो, मैले गाउँमा छु भन्दा उहाँले सोमबार साँझसम्म जसरी पनि काठमाडौं आउनका लागि अध्यक्षज्यूले भन्नुभएको छ भन्नुभयो।’
पार्टी अध्यक्षकै निर्देशन छ भने आउनैप-यो भन्दै काठमाडौंका लागि हिँडेको उनले बताए। जसपाका अध्यक्ष उपेन्द्र यादवले यसअघि कार्यकारिणी सदस्य र सांसदको हस्ताक्षर गरेर लुम्बिनीका चार जना प्रदेशसभा सदस्य र पार्टीका नेतालाई कारबाही गरिसकेका छन्। साथै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव दर्ता गराउने प्रयोजनका लागि पनि उपेन्द्र-बाबुराम पक्षले हस्ताक्षर संकलन गरेको नेताहरू बताउँछन्। त्यसै गरी अर्का अध्यक्ष महन्थ ठाकुरले पनि केपी ओलीको पक्षमा आफ्ना पक्षका सांसद तथा पार्टीका कार्यकारिणी समितिका सदस्यहरूको हस्ताक्षर संकलन गर्न सुरु गरेका हुन्।
प्रधानमन्त्री ओलीले १२० जनाको मुद्दा फिर्ता गरेपछि जसपाको ठाकुर पक्षले ओलीलाई समर्थन गर्ने संकेत देखिएको छ। विश्वासको मतका लागि प्रधानमन्त्री ओलीले प्रक्रिया सुरु गरेपछि महन्थ ठाकुर पक्षले ओलीलाई समर्थन गर्ने नेताहरू बताउँछन्। जसपामा ३४ जना सांसद छन् त्यसमध्ये रेसम चौधरी जेलमा छन् भने हरिनारायण रौनियार निलम्बनमा परेका छन्। बाँकी रहेका ३२ मध्ये १६ जना सांसद उपेन्द्र यादव नेतृत्वको पूर्व समाजवादी पार्टीको रहेका छन् भने १६ जना महन्थ ठाकुर नेतृत्वका पूर्वराजपासँग छन्।
पूर्वराजपाका १६ जनामध्ये २ जना पूर्वसमाजवादी पार्टीतिर लागेको स्पष्ट भएको छ। उता पूर्वराजपावालाहरुले ७-८ जना पूर्वसमाजवादीका सांसदहरू आफूतिर आउने दाबी गरेका छन्। तर, अहिलेसम्म त्यो निश्चित भएको छैन। जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा २५ जना पूर्वसमाजवादी पार्टीका छन् भने २६ जना पूर्वराजपाका छन्। तर, पूर्वराजपाबाट तीन जनाले पूर्वसमाजवादी पार्टीलाई साथ दिएका कारण पार्टीभित्र बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको बहुमतमा देखिएको छ।
तर, जसपाका अध्यक्ष महन्थ ठाकुरले बहुमत पुर्याउनका लागि हरसम्भव प्रयास गरिरहेका छन्। त्यसका लागि कार्यकारिणी समितिका नेता तथा सांसदहरूलाई काठमाडौं डाकेका हुन्। सोमबार साँझसम्म सबै जना काठमाडौं आइसकेपछि मंगलबार जसपाको पार्टी कार्यालय बबरमहलमा ठाकुर पक्षले बैठक बोलाएको स्रोतले बतायो।



लोकपाटी न्यूज

