रुपन्देही। नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दुगनारायण पाण्डेको राजीनामा स्वीकृत भएको छ। सांसद पाण्डेले दिएको राजीनामा सोमबार सभामुख पूर्ण घर्तीले स्वीकृत गरेका हुन्।
आइतबार दिउँसो मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएपछि एमाले सांसद पाण्डेले राजीनामा दिएका थिए। पाण्डे कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
पाण्डेले पेस गरेको राजीनामा पत्रमा हालको राजनीतिक परिस्थिति नियाल्दै हिजोकै मितिबाट लागू हुने राजीनामा दिएको उल्लेख गरेका थिए। उनले आफ्नो राजीनामाबारे आइतबार प्रतिक्रिया दिँदै भनेका थिए, ‘आफ्नो पार्टी र प्रदेशसभा सदस्य पदबाट राजीनामा गरेको छु। तर जनताको चाहना अनुसार राजनीतिमै रहन्छु।’
जनता कोरोना महामारीमा पिल्सिरहेका बेला सत्ता बनाउने र गिराउने खेल हुँदा पदमा रहिरहन उपयुक्त नदेखेको पनि उनको भनाइ थियो। पाण्डे एमालेको प्रदेश कमिटी सदस्यसमेत हुन्। उनी प्रदेश सभामा सामाजिक विकास समितिका सभापतिसमेत थिए।



लोकपाटी न्यूज

