कांग्रेस पदाधिकारी बैठक स्थगित हुनुको कारण यस्तो छ

Nepali-congress
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ। शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक डाकेका थिए। देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन अधिवेशन आह्वान गरेपछि देउवाले पदाधिकारीको बैठक डाकेका थिए।

तर, वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा सामान्य समस्या आएको जानकारी पछि देउवाले बैठक स्थगित गरेका हुन्। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार रामचन्द्र पौडेलको स्वास्थ्यमा सामान्य समस्या भएका कारण बैठक भोलिको लागि सारिएको छ।

बैठकमा नयाँ सरकार गठन, पार्टीको महाधिवेशन लगायतका विषयमा छलफल हुने बताइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेपछिको अवस्थाका विषयमा पनि बैठकमा छलफल गर्ने तयारी थियो।

नेपाली कांग्रेसले माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको नेतृत्व नलिने बताउदै आएको छ। माओवादी केन्द्रले भने जसपा र नेपाली कांग्रेसले स्पष्ट वचन नदिएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसकिएको जनाउँदै आएको छ।