शंकर पोखरेलको यति छिटो राजनीतिक जीवन अन्त्यको कल्पना गरेको थिइनँ : ओनसरी घर्ती

Onsari-Gharti-1
लोकपाटी न्यूज

काठमाडौं। पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले मुख्यमन्त्री शंकर पोखरेलको राजनीतिक जीवन स्खलित भएको टिप्पणी गरेकी छन्। नेता घर्तीले आफूले पोखरेलको राजनीतिक जीवन यति छिटो अन्त्य हुने कल्पना पनि नगरेको बताएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘शंकर पोखरेलको यति छिटो राजनीतिक जीवन अन्त्यको कल्पना गरेको थिएन।’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहान एकल बहुमतीय सरकार बनाउने योजनाका साथ मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा लगत्तै बसेको एमाले संसदीय दलको बैठकले पोखरेलको नेतृत्वमा एकल सरकार गठन गर्न प्रदेश प्रमुख समक्ष दाबी पेस गर्ने निर्णय गरेको छ। पोखरेलको योजना अनुसार आइतबार साँझ प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले उनलाई आइतबार पुनः मुख्यमन्त्रीमा नियुक्त गरे।

संविधानको धारा १६८ को उपधारा १ मा व्यवस्थामा प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ। यस्तै, संविधानको धारा १६८ को उपधारा २ मा प्रदेशसभामा कुनै दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ।

लुम्बिनी प्रदेशमा वर्तमान सरकारका पक्षमा लागेपछि जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले आफ्ना सांसदलाई कारबाही गरेको थियो। जसको फाइदा लिन मुख्यमन्त्री पोखरेल लागि परे। आइतबार लुम्बिनी प्रदेशको विशेष अधिवेशन बोलाइएको थियो। अधिवेशनको प्रमुख कार्यसूची प्रदेश सरकारविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव पेस गर्ने। तर मुख्यमन्त्री पोखरेलले अविश्वासको प्रस्ताव छल्न बैठक अघि नै राजीनामा दिए। र विशेष अधिवेशनको अन्त्य गरिदिए।

लुम्बिनी प्रदेशसभाको कुल सदस्य संख्या ८७ हो। यसमध्ये जसपाका ४ र माओवादी केन्द्रका २ सांसद निलम्बित छन्। हाल कायम रहेको सदस्य संख्या ८१ मध्ये एमालेसँग मात्र ४१ सांसद रहेको भनिएको थियो। सोही संख्याका आधारमा पोखरेलले एकल सरकार गठन गर्ने योजना बनाएका थिए। जसमा उपनिर्वाचनमा विजयी प्रदेशसभा सदस्य विमला खत्रीलाई समेत राखिएको थियो। तर पछि खत्रीले आफू माओवादी केन्द्र रहने निर्णय गरिन्। र जसबारेमा प्रदेश सभालाई जानकारी पनि दिइन्।

त्यस्तै कपिलवस्तु २ (क) बाट एमाले सांसद दृगनारायण पाण्डेले पनि जनताको बिचमा जानै नसक्ने अवस्था आएकाले आफूले सांसद पद र पार्टीबाट राजीनामा दिएको घोषणा गरे। राजीनामा गरेका पोखरेल फेरि मुख्यमन्त्री बन्ने भएपछि पाण्डेले आफ्नो समर्थन नरहेको जानकारी गराए। यस्तै सांसद धर्मलालप्रसाद श्रीवास्तव र अजय शाहीले पनि माओवादी गठबन्धनलाई सघाउने र पोखरेलाई आफ्नो समर्थन नरहेको जनाएका छन्।

यता माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन ४२ जना सांसदको हस्ताक्षर संकलन गरिएको थियो। माओवादी केन्द्रले ४२ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी प्रस्तुत गरेको थियो। माओवादी केन्द्रको दाबी पछि मुख्यमन्त्री पोखरेलको पक्षमा बहुमत नरहेको स्पष्ट छ। तर प्रदेश प्रमुखले पोखरेलले बहुमत पुर्‍याएको भन्दै पुनः मुख्यमन्त्री नियुक्त गरे। त्यस लगत्तै पूर्वसभामुख घर्तीले पोखरेलले किर्ते गरेर प्रदेश प्रमुखलाई झुकाएको आरोप लगाएकी थिइन्।

विपक्षी दलको गठबन्धनले आफ्नो पक्षमा रहेका सांसदहरूको समेत किर्ते हस्ताक्षर देखाएर पोखरेल फेरि मुख्यमन्त्री बनेपछि उनीमाथि नैतिक प्रश्न उठाएको छ। आफ्नो पक्षमा रहेको दाबी गरेका सांसदले समेत पोखरेलको साथ छोडेको घोषणा गर्दा उनले मुख्यमन्त्री बन्न किर्ते गरेको आरोप लागेको छ। पद र सत्ताको लागि पोखरेलले असंवैधानिक कदम उठाएको टिप्पणी हुन थालेको छ। अविश्वास प्रस्ताव फेस गर्ने हिम्मत नदेखाएका पोखरलेको पछिल्लो कदमबाट उनको राजनीतिक जीवन स्खलित भएको घर्तीको भनाई छ।