मुख्यमन्त्रीबाट राजीनामा दिएपछि यस्तो छ पोखरेलको प्रतिक्रिया

Shankar_Pokharel
लोकपाटी न्यूज

बुटवल। लुम्बिनी प्रदेशका नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेलले संसदीय मर्यादाविपरित जालझेल र तिगडम भएपछि आफूले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको बताएका छन्। संसदीय दलको बैठकमा पोखरेलले यस्तो बताएका हुन्।

पोखरेलले आइतबार बिहान मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए। राजीनामा लगत्तै उनले संसदीय दलको बैठक बोलाएका थिए। बैठकमा उनले लुम्बिनी प्रदेशसभा सचिवालयले समेत अनावश्यक रूपमा जालझेल र तिगडम गरेपछि आफूले बाध्य भएर राजीनामा दिएको बताएका हुन्।

‘मेरो नेतृत्वमा बनेको सरकार संविधानको धारा १६८ को २ बमोजिम गठन भएको थियो, केन्द्रमा विवाद भए पनि मैले मिलेर जाउँ भनेको थिएँ, तर माओवादी केन्द्रका साथीहरू मान्नुभएन,’ मुख्यमन्त्रीको भनाई उदृत गर्दै मन्त्री लीला गिरीले भने।

‘मिलेर जाउँ भन्दा मान्नुभएन, मात्रै होइन नियम र संसदीय मर्यादा विपरीत प्रदेशसभा सचिवालयले समेत जसपाका सांसदलाई पदमुक्त गर्ने काम गर्‍यो,’ मुख्यमन्त्रीले भने, ‘अब संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन हुन्छ र त्यो ठिक ढंगले अगाडि बढ्छ।

एमाले संसदीय दलले पुनः शंकर पोखरेलकै नेतृत्वमा एमालेको सरकार गठन गर्ने निर्णयसमेत गरेको गिरीले बताए। यस्तै प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई नै प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न जिम्मेवारी तोकेका छन्।