काठमाडौँ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी नफुटेको दाबी गरेका छन्। नेकपाले कृष्ण धमलाद्वारा निर्माण गरिएको जन समाजवादी मञ्चलाई पार्टी फुटको संज्ञा दिएर भ्रामक प्रचार गरिएको टिप्पणी समेत गरेको छ।
केन्द्रीय कार्यालयका असलद्वारा हस्ताक्षरित प्रेस नोटमा मञ्च गठनलाई दलाल पुँजीवादी र संसद्वादीहरुलाई फाइदा पुग्ने गरी गरिएको भ्रामक प्रचार भनिएको छ। आज मई दिवस पारेर नेकपाका पूर्व पोलिटब्यूरो सदस्य कृष्णप्रसाद धमला गम्भीरले विद्रोह गरी नयाँ पार्टी गठन गरेका हुन्। विज्ञप्ति जारी गर्दै धमलाले नयाँ पार्टी गठन गरेको घोषणा गरेका हुन्। पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल राखिएको छ। पार्टीमा ५१ सदस्यीय जन समाजवादी मञ्च समेत गठन गरिएको उल्लेख छ।
पूर्वपोलिटब्यूरो सदस्य कृष्णप्रसाद धमलाद्वारा गठन गरिएको समाजवादी मञ्चलाई फार्टी फुट भन्न र मान्न नसकिने बताउँदै विप्लव नेकपाको वक्तव्यमा भनिएको छ, ‘प्रतिबन्धको समयमै पार्टीबाट स्वतन्त्र रहेको वक्तव्य दिएका श्री कृष्ण धमलाद्वारा निर्माण गरिएको मञ्चलाई पार्टी फुटको संज्ञा दिइएको छ। उक्त कुरालाई पार्टी–फुट भन्न र मान्न सकिँदैन। यो दलाल पुँजीवादी संसदवादीहरुलाई फाइदा पुग्ने गरी गरिएको भ्रामक प्रचार मात्र हो।’



लोकपाटी न्यूज

