काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार बनाउन बहुमत नपुगेको बताएका छन्। कांग्रेसले केपी शर्मा ओली सरकारको विकल्प खोज्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको उल्लेख गरेका देउवाले नयाँ सरकार बनाउन बहुमत भने नपुगेको बताए।
उनले जसपासँग कुरा भइरहेको पनि बताए। ‘जसपासँग मेरो कुरा भइरहेको छ सबै कुरा अहिले म कहाँ भन्छु ?, तर अहिलेसम्म बहुमत पुगेको छैन। बहुमत पुगेपछि तपाईंहरूलाई बोलाएरै भनौंला,’ बुढानिलकण्ठमा आज आयोजित पत्रकार सम्मेलनमा देउवाले भने।
उनले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउन पनि बहुमत पुगिनसकेको बताए। जनता समाजवादी पार्टीले निर्णय नगरेकोले सरकारको विकल्प दिनका लागि आफूहरूसँग संख्या नपुगेको देउवाको भनाई छ। वैकल्पिक सरकारको विषयमा सोधिएको प्रश्नमा देउवाले भने, ‘ए बाबा, हामीसँग सरकार बनाउने संख्या नै छैन। जसपाले निर्णय नगरी कसरी हुन्छ ?’
उनले जनता समाजवादी पार्टीका कारण वैकल्पिक सरकार गठन गर्न नसकिएको बताए। कांग्रेस केन्द्रीय समितिले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेको उल्लेख गर्दै देउवाले भने, ‘संख्या पुग्नुपर्छ यहाँ त। संख्या नपुगिकन प्रधानमन्त्री हुन्छु भन्ने चाहेर हुन्छ त ?’ अविश्वास प्रस्ताव पास गर्नका लागि दर्ता गर्ने र फेल गर्नका लागि नगर्ने उनको भनाइ थियो।
अविश्वास प्रस्ताव फेल भयो भने एक वर्ष ल्याउन नपाइने भएकले त्यसका लागि तयारी राम्रो गर्नुपर्ने देउवाको भनाई थियो। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा केही निलम्वित र केही निधनले गर्दा रिक्त छन्। अहिले प्रधानमन्त्री बन्न १ सय ३६ सांसदको समर्थन चाहिन्छ।अहिले संसदमा एमालेका १२०, कांग्रेसका ६०, माओवादी केन्द्रका ४८ र जसपाका ३४ सांसद छन्। तीनजना स्वतन्त्र हैसियतमा छन्। जसपाको सहयोगले ओली पनि सुरक्षित हुनेछन् भने उसको साथ पाएमा नयाँ सरकार निर्माण पनि सहज हुनेछ।



लोकपाटी न्यूज

