दैलेख। नेकपा एमालेले दैलेखका १५ जना जनप्रतिनिधिलाई तीनदिने स्पष्टीकरण सोधेको छ। एमाले दैलेखको सचिवालय बैठकले पार्टीका नेता माधव नेपाल समूहका १५ जना जनप्रतिनिधिलाई तीनदिने स्पष्टीकरण सोधेको हो।
दैलेखमा समानान्तर कमिटी गठन गरेका १५ जना जनप्रतिनिधिलाई पार्टी एकताविरोधी गतिविधिमा संलग्न रहेको ठहरसहित बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको अध्यक्ष रवीन्द्रराज शर्माले जानकारी दिए। फ्लोर क्रस गरेर कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री भएका अम्मरबहादुर थापाको आतिथ्यतामा बसेको बैठकले जिल्लामा १८५ सदस्यीय जिल्ला कमिटी गठन गरेका थियो। नेपाल पक्षको बैठकले बरुनाथ योगीलाई अध्यक्षमा चयन गरको थियो।
नेपाल पक्षमा लागेको भन्दै नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा, चामुण्डाविन्द्रासैनी नगरपालिकाका उपप्रमुख ताराकुमारी शाही, नारायण नगरपालिका-१ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठ, नौमूले गाउँपालिका-४ का वडाध्यक्ष गजबहादुर ढेंगा, भगवतीमाई गाउँपालिका-२ का वडाध्यक्ष कर्णबहादुर शाही, भगवतीमाई गाउँपालिका-४ का वडाध्यक्ष कृष्णबहादुर थापा, आठबीस नगरपालिका-५ का वडाध्यक्ष कर्ण आले, डुंगेश्वर गाउँपालिका-२ का वडाध्यक्ष राजु केसी, नौमूले गाउँपालिका गाउँसभा सदस्य दीपक हमाल, गुराँस गाउँपालिका गाउँसभा सदस्य पशुपति शर्मा, नारायण नगरपालिका नगरसभा सदस्य हर्कबहादुर नेपाली, नमराज शाही र रमेश केसीलाई तीन दिने स्पष्टीकरण सोधिएको अध्यक्ष शर्माले बताए।
त्यस्तै, नेकपा एमाले कर्णाली प्रदेश कमिटीमा रहेका टेकबहादुर खाँड, बरुनाथ योगी, सावित्री मल्ल र मयाराम अधिकारीलाई आवश्यक कारबाहीका लागि एमाले कर्णाली प्रदेश कमिटीमा सिफारिस गरिएको छ।



लोकपाटी न्यूज

