काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चामा सांसद लुकाउन केन्द्र सरकारको शक्ति प्रयोग भएको बताएका छन्। नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरूले सांसदलाई षड्यन्त्रमा पारेर लुकाएको आरोप पनि लगाए। बिहीबार आफ्नै निवासमा संचारकर्मीहरूसँग नेता पौडेलले सांसदको नक्कली पीसीआर रिपोर्ट बनाउने स्वास्थ्य संस्थामाथि कारबाही हुनुपर्ने भन्दै घटनाको छानबिन गर्न माग गरे।
‘अघिल्लो दिन नेगेटिभ रिपोर्ट आएको छ, भोलिपल्ट अर्को कुनै संस्थामा गएर जाँच गरेको एक मिनेटमै पोजेटिभ रिपोर्ट बनाएर आइसियुमा लुकेर, संसद्मा १२ बजे आइपुग्छु भनेर ९ बजे देखि नै अस्पताल भर्ना हुने एउटा किर्ते राजनीतिको सिकार भएका छन्। यो मुलुकमा सत्तामा जाने, अन्धाधुन्ध पैसा कमाउने, अनि त्यो पैसाले सत्ता जोगाउने, त्यही पैसाले आफूलाई टिकाइराख्ने र देशमा लोकतन्त्रको धज्जी उडाउने षडयन्त्र पोखरामा पनि भयो।’
गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्तावमा मतदान हुनेबेला जनमोर्चाका सांसद खिमविक्रम शाही फोन स्वीच अफ गरी गायब भएका थिए। नेता पौडेलले एमालेले जनमोर्चाका सांसद शाहीलाई अपहरण शैलीमा अस्पतालमा लगेर बन्धक बनाउनु राजनीति सिद्धान्त र निष्ठामा रहेको जनामोर्चाजस्तो पार्टीको आर्दशमाथि प्रहार गरेको आरोप लगाए। खिमविक्रम शाही प्रकरणको स्वतन्त्र छानबिन हुनुपर्ने पनि नेता पौडेलले बताए।
उनले सत्तारुढ एमालेले राष्ट्रिय जनमोर्चा पार्टीको सचित्व हरण गरेको आरोप लगाए। पौडेलले तुलनात्मक रूपमा निष्ठा र आदर्शको राजनीति गरिरहेको राष्ट्रिय जनमोर्चामा संघीय सरकारको संलग्नतामा एमालेले विकृति घुसाएको आरोप लगाए। ‘राष्ट्रिय जनमोर्चा पार्टी तुलनात्मक रूपमा नीति सिद्धान्तमा अडेको, विकृति कम भएको पार्टीका रूपमा हामीले मानेका हौ,’ पौडेलले भने, ‘तर, आज एमाले पार्टीले त्यसको पनि सतीत्व हरण गर्यो।’
उनले अहिले गण्डकीमा आएको खिमबिक्रम साही प्रकरण जुन आयो यो गम्भीर प्रकरण भएको दाबी गरे। ‘किर्ते खेल र अलोकतान्त्रिक चरित्रको छानबिन हुनुपर्छ। स्वयम् राष्ट्रिय जनमोर्चाले चरक अस्पताल, लाइफ केयर डाइग्नोष्टिक, फोवा सिटी यी सबै संस्थासँग मिलेर जुन किर्ते गरिएको छ, तीनलाई कारबाही गर्नुपर्छ,’ पौडेलले भने, ‘चरकमा गएर बिरामी वाहना गरेको प्रमाण नै छ। यस्तो किर्ते खेलमा फसेकालाई राष्ट्रिय जनमोर्चा जस्तो पार्टीले कारबाही गर्नुपर्छ।’
उनले राष्ट्रिय जनमोर्चा जस्तो निष्ठामा अडिउसको पार्टीलाई पनि छिनमै वर्वाद पारिदिएको दाबी गरे। ‘आफ्नो विश्वसनीयता बचाउन राष्ट्रिय जनमोर्चामाथि चुनौती आएको छ,’ पौडेलले भने, ‘अहिले देशको राजनीतिलाई यस्ता विकृतिबाट कसरी बचाउने आजको सवाल त्यही हो’ । यस्ता विकृतिबाट राजनीतिबाट देशलाई बचाएर जनतामा राजनीतिप्रति एउटा आशा र विश्वास जगाउनुपर्ने खाँचो छ।’
पौडेलले संसद अवरुद्ध पार्ने देखि संसदमा अराजनीतिक गतिविधि गर्ने खेलमा केन्द्र सरकारकै संलग्नता रहेको दाबी गरे। ‘सिडिओ देखि केन्द्रका मान्छेहरू लागेका छन्, अविश्वास प्रस्तावको तयारी हुँनासाथ संसद स्थगित गरेर मुख्यमन्त्री दौडेर बालुवाटार आएका छन्,’ उनले भने, ‘अघिल्लो दिनसम्म सदन लम्ब्याउने नीति लिने, सांसद लुकाउन सक्नासाथ एकाएक बोल्नेको नाम कटाएर भोटिङको प्रस्ताव राख्ने, यी सबै कुराले नेकपा एमालेको षडयन्त्र पर्दाफास भएको छ।’



लोकपाटी न्यूज

