पोखरा। राष्ट्रिय जनमोर्चाबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टी र संसदीय दलको निर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन्। प्रदेशसभा बैठकमा अनुपस्थित भएर अस्पतालको बेडमा भेटिएका सांसद शाहीले विज्ञप्ति जारी गरी आफ्नो पार्टी र संसदीय दलको निर्णमयमै प्रतिवद्ध रहेको धारणा सार्वजनिक गरेका हुन्।
बुधबार गण्डकी प्रदेशसभा बैठकमा नआएर एकाएक चर्चामा रहेका राष्ट्रिय जनमोर्चाका सांसद शाहीले आफू बेहोस भएकाले सम्पर्कमा आउन नसकेको र हाल अस्पतालमा उपचाररत रहेको प्रष्टीकरण दिएका छन्। उनले भनेका छन्, ‘म सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा बेहोस भएछु।’
उनले समाचार र सामाजिक सञ्जालमा भ्रामक प्रचार भएका विभिन्न भ्रामक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगर्न पनि सबैमा आग्रह गरेका छन्। मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्ने प्रदेशसभाको बैठकमा उपस्थित नभएपछि उनीबारे विभिन्न प्रश्न उठेका छन्।




लोकपाटी न्यूज

