जसपासँग सत्ता समीकरण गर्नेबारे सहमति भएको छैन : नेम्वाङ

subash_newang_7
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका नेता सुवास नेम्वाङले जनता समाजवादी पार्टी (जसपा)सँग सत्ता समीकरणका विषयमा कुनै सहमति नभएको बताएका छन्। सरकार फेरबदलको रस्साकस्सी चलिरहेका वेला मन्त्रिपरिषद्ले मधेस आन्दोलनका वेला लगाइएका मुद्दा फिर्ताको प्रक्रिया अघि बढाएको छ।

मंगलबार मात्रै मधेस र थरुहट आन्दोलनका क्रममा एक सय २० जनामाथि चलाइएका १५ वटा मुद्दा फिर्ता लिने निर्णय भएको छ। नेता-कार्यकर्ताको रिहाइ गर्नुपर्ने जनता समाजवादी पार्टीको पुरानो मागलाई सत्ता टिकाउने रणनीतिअन्तर्गत प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेको आरोप पनि लाग्न थालेको छ।

तर नेम्वाङले भने जसपासँग सत्ता समीकरणका विषयमा सहमति नभएको बताए। ‘उहाँहरूको मागप्रति सरकार गम्भीर रूपमा लागेको छ,’ उनले भने, ‘अधिकांश माग सम्बोधन गर्ने सहमति भए पति सत्ताको विषयमा कुनै कुरा भएको छैन।’

जसपाले उठाएका अधिकां‌श माग अदालतसँग सम्बन्धित छन्। उनीहरूको माग सम्बोधनमा सरकार सकारात्मक देखिएको छ। जसपाले केही माग पुरा भए पनि केही मुद्दा सम्बोधन हुन बाकी रहेको जनाएको छ। नेम्वाङले पनि जसपाका केही पूरा भएको बताए। उनले भने, ‘केही माग अदालती प्रक्रियाका कारण ढिला भएका छन्। ती पनि प्रक्रियागत रूपमा पूरा हुन्छन्।’

रेसम चौधरीको मुद्दा र मधेस आन्दोलनको मुद्दालाई जसपाले मुख्य माग बनाएको छ। ‘नागरिकता विधेयकदेखि संविधान संशोधनका माग समेत उहाँहरूको छ,’ उनले भने। जसपा सरकारमा सहभागी हुने कुरालाई भने उनले पार्टीको आशनतरिक कुरा भएकाले छिट्टै निर्णय हुने बताए।

‘अहिले कुनै सहमति भएको छैन,’ नेम्वाङले भने, ‘उहाँहरूको माग सम्बोधन भएपछि सरकारमा आउन सक्नुहुन्छ।’ सरकारले मुद्धाफिर्ताको प्रक्रिया अगाडि बढाएपछि जसपाको एक पक्ष खुसि देखिएको छ। माग सम्बोधन हुने भएपछि केपी ओली सरकारलाई सहयोग गर्न सकिने सो पक्षले संकेत दिएको छ।