खिमविक्रम शाहीलाई बन्दी बनाइएको छ, कारण के हो ? : जनमोर्चा

KhimBikram
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाहीको स्थिति सार्वजनिक गर्न माग गरेको छ। पार्टीका केन्द्रीय नेता र प्रदेशका सांसद जाँदा पनि भेट्न नदिइएपछि पार्टी उपाध्यक्षसमेत रहेकी प्रवक्ता दुर्गा पौडेलले सांसद शाहीको स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्।

बिहीबार एक विज्ञप्ति जारी गरेर पौडेलले सरकारविरुद्ध आएको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने पार्टीको प्रष्ट र दृढ नीति रहेकोले मतदानको बेला सांसद शाहीको अनुपस्थितिले आश्चर्य र दुःख भएको बताएकी छन्। शाहीलाई पोखराको एउटा अस्पतालमा भर्ना गरिएको र कसैलाई भेट्न पनि नदिइएको उनले उल्लेख गरेकी छन्।

‘गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको सार्वजनिक भएको थियो। त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा हुन गएको छ। सरकारी प्रयोगशालामा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको व्यक्तिलाई अकस्मात कसरी पोजेटिभ आयो ?,’ उनको प्रश्न छ।

त्यो कुरा बुझ्न आफूहरु असमर्थ भएको पौडेलले बताइन्। ‘अहिले अस्पतालमा कसैलाई पनि उहाँसित भेट गर्न दिइएको छैन। राष्ट्रिय जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सांसदहरु जाँदा पनि उहाँलाई भेट गर्न दिइएको छैन। उहाँलाई एक प्रकारको बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो ? उहाँको स्थिति सार्वजनिक गर्नका लागि सरकारसित अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

पौडेलले सांसद शाही संसदमा उपस्थित नहुँदासम्म अविश्वासको प्रस्तावमाथिको मतदानलाई स्थगित गर्न सभामुख समक्ष निवेदन दिएकी थिइन्। त्यसका आधारमा गण्डकी प्रदेशको संसदलाई सभामुखले अनिश्चितकालका लागि स्थगित गरेको जानकारी प्राप्त भएको पौडेलले जानकारी दिइन्।

गण्डकी प्रदेशको संसदको गतिविधिलाई आफूहरुले अस्वभाविक रुपमा लिएको उनको भनाइ छ। ‘संसदको कामलाई सामान्य र स्वभाविक प्रकारले सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौं। खिमविक्रम शाहीको स्थितिबारे थप सूचना प्राप्त भएपछि हामीले जानकारी दिनेछौं,’ विज्ञप्तिमा भनिएको छ।