काठमाडौं। बाबा, कहाँ जाना है ? सिरहाको लहानस्थित हस्पिटल चोकमा गेरूवस्त्रधारी बाबाजीलाई ईरिक्सा चालक पडरिया निवासी ललन चौधरीले प्रश्न गरे।
जवाफ आयो- ठाडी जानु छ, पैसा कति ?
ललनले २ सय ५० रूपैयाँ भाडा लाग्ने बताए। ठाडी सिरहाको दोश्रो ठूलो नेपाल- भारत नाका हो।
ती बाबासँगै थिए महोत्तरीको बर्दिवास, हात्तीलेट निवासी टेकबहादुर बलम्पाकी। ई-रिक्सा हुइँकिन्छ लहानबाट करिब १७ किलोमिटर दक्षिणमा रहेको ठाडीतिर। बाटामा अनेकन राजनीतिक संवाद हुन्छन् बाबा र बलम्पाकीबीच। ईरिक्सा चालक बाबाको राजनीतिक संवादले तीन चित खान्छन्।
ठाडीसँगै जोडिएको लौकहा हुँदै ती भारत छिर्छन्। भारत छिर्ने क्रममा बाबाले नेपाल- भारतको दशगजामा रहेको सशस्त्र प्रहरीको चेकपोष्ट हेर्छन्। छेउमै रहेको डोम समुदायको सुँगरका खोरहरू हेर्छन्। त्यसपछि ‘ल कामरेड, अहिलेलाई पक्राउबाट जोगियौं, अरू अर्को भेटमा छलफल गरौँला’ भनेर हात मिलाउँदै भारततिर लाग्छन्।
ती बाबा हालै सरकारसँगको वार्तामार्फत मूलधारको राजनीतिमा आएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ हुन्। र, टेकबहादुर बलम्पाकी थिए तत्कालीन विप्लव नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश २ का इञ्चार्ज। बलम्पाकीको दाबी छ- हो, सरकारले प्रतिबन्ध लगाएपछि विप्लव बाबाजीको भेषमा देश डुलेका थिए।
बलम्पाकीका माइला दाइ बलबहादुर र साइँला नलबहादुर २०२८ सालदेखि चौमको पूर्णकालीन सदस्य थिए। र, सरकारले प्रतिवन्ध लगाएपछि विप्लव पनि केही समय हात्तीलेटमै बसेका थिए।
प्रहरीको घेराबन्दीमा परेपछि विप्लव टेकबहादुरकै सहयोगमा बाबाजीको भेष धरेर लहान हुँदै ठाँडीबाट भारत छिरेका हुन्। तर, तिनै बलम्पाकी अहिले केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) मा केन्द्रीय सदस्य बनेका छन्। गृहमन्त्री रामबहादुर थापा (बादल) को नेतृत्वमा एमाले छिरेका २३ जनामध्ये एक हुन्।
अनि विप्लव आए मूलधारमा
विप्लवको राजनीतिक कार्यदिशा संयुक्त एकीकृत जनक्रान्न्ति थियो। यसमा सैन्य कार्यदिशा पनि थियो- तर लडाइँ लड्ने सामथ्र्य थिएन, सुसज्जित हतियार खरिद गर्न सक्ने अवस्था थिएन।
विश्व परिस्थिति हतियार युद्धका लागि अनुकूल नभएको निचोड विप्लवले निकाले, बलम्पाकीले भने, ‘विप्लव गोञ्जालो बन्न चाहँदैनथे।’ –जनआस्थाबाट



लोकपाटी न्यूज

