कोभिड भएका सांसदलाई बोल्न नदिने, भोट हाल्न दिने निर्णय

लोकपाटी न्यूज

पोखरा। गण्डकी प्रदेशका ३ जना सांसद र प्रदेशसभाका दुई जना कर्मचारी कोरोना संक्रमित भएका छन्। कोरोना संक्रमित हुने सांसदहरुमा एमालेका राजिव पहारी र प्रभा कोइराला रहेका छन् भने कांग्रेसका मनकुमारी गुरुङ रहेकी छन्।

सत्तारुढ दल नेकपा (एमाले)को अवरोधका कारण मंगलबारको प्रदेशसभा बैठक स्थगित गरिएको थियो। पीसीआर परीक्षणको माग गरिएपछि मंगलबार नै सबै प्रदेशसभा सदस्यको स्वाब संकलन गरिएको थियो। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोदविन्दु शर्माले तीन जना सांसदमा कोभिड १९ देखिएको पुष्टि गरे।

मंगलबार सदन अवरोध भएपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकालाई बोल्न नदिने तर मतदान गर्न दिने सहमति गरेको थियो। उक्त सहमति अनुसार नै संसद अघि बढ्ने सभामुख नेत्रनाथ अधिकारीले बताए। सभामुख अधिकारीले पनि ३ जना सांसदलाई कोरोना संक्रमण भएको जानकारी आफुले पाएको भन्दै संक्रमितलाई मतदान गर्न छुट्टै व्यवस्था मिलाउने बताए।

‘उहाँहरुलाई मतदान गर्न छुट्टै व्यवस्था गरिनेछ’, उनले भने, ‘अविश्वास प्रस्तावमा छलफलमा उठेको प्रश्नको जवाफ मुख्यमन्त्री ज्युले दिनुहुन्छ र मतदान अघि बढ्छ।’ अविश्वास प्रस्ताव माथि मतदान कहिले गर्ने टुंगो नलागेको उनको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्