माओवादी केन्द्रको स्थायी समिति बैठक जारी, यी विषयमाथि हुँदैछ छलफल

फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिस डाँडामा जारी छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै बैठक बोलाइएको स्थायी समिति सदस्य गणेश साहले बताए। कुन-कुन विषयमा छलफल गर्ने भन्ने अजेण्डा तय भइनसकेकाले विषय प्रवेश गरेपछि मात्रै थाहा हुने साहले बताए।

नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग नयाँ सरकार गठनबारे भएको वार्ताका विषयमा छलफल हुने एजेन्डा रहेको माओवादी केन्द्रका नेताहरूले बताएका छन्। यसअघि पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले सरकारलाई आफ्नो पार्टीको समर्थन नभएको बताउँदै केही दिनमै लिखित जानकारी दिने निर्णय गरेको थियो।

उक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो। नेपाली काँग्रेस र माओवादी केन्द्रबीच पटक-पटक भएका वार्ता निष्कर्षमा पुगेको माओवादी केन्द्रका नेताहरूको दाबी छ। प्रचण्डनिकट एक नेताका अनुसार अब देउवाले निर्णय नफेरेमा केही दिनमै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता हुने छ।

‘अहिलेको सहमतिअनुसार अब अविश्वासको प्रस्ताव केही दिनमै दर्ता होला भन्ने छ। तर यसमा देउवाजीले सहमति पालना गर्नुभयो भने,’ ती नेताले भने। यता, जनता समाजवादी पार्टीमा संयुक्त सरकारका विषयमा छलफल गर्न भन्दै अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरूले मंगलबारको पदाधिकारी बैठकमा कार्यकारिणी समितिको बैठकको माग गरेका छन्।

जसपाको अनौपचारिक रूपमा बसेको पदाधिकारी बैठकमा यादव र भट्टराईले कार्यकारिणी समितिको बैठक माग गरे पनि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले लगायतका नेताहरूले कोरोना सङ्क्रमण बढ्दै गएकाले बैठक राख्न उपयुक्त नहुने धारणा राखेपछि बिनानिश्कर्ष टुंगिएको नेताहरूले बताएका छन्।