दैलेखमा एमाले विभाजित, नेपाल समूहको नेतृत्वमा को ?

Nepal_Khanal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेमा देशभर समानान्तर कमिटीको अभ्यास अझै रोकिएको छैन। एमालेका अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल पक्षले लगातार समानान्तर कमिटी बनाउने प्रक्रिया जारी राखेका छन्। देशभर समानान्तर गतिविधि चलाउने र एकले अर्कोलाई कारबाही गर्ने शृंखला रोकिएका छैनन्।

यही क्रममा एमालेको नेपाल पक्षले दैलेखमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ। नेपाल पक्षले बरुनाथ योगीको अध्यक्षतामा १ सय ८५ सदस्यीय जिल्ला कमिटी गठन घोषणा गरेको हो। प्रदेश सदस्य टेकबहादुर खाणले अध्यक्षलगायत चार सदस्यीय पदाधिकारीलाई शपथ खुवाएका थिए।

उनीहरूले एमाले जिल्ला कमिटी पुनर्गठन गरिएको बताएका छन्। पालिका हुँदै वडासम्मै कमिटी विस्तार हुने जनाइएको छ। १ सय ८५ सदस्यीय एमाले पुनर्गठन भएको अध्यक्ष बरुनाथ योगीले बताए। जिल्ला कमिटी घोषणा सभामा कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री अम्मरबहादुर थापा पनि सहभागी थिए।

यता ओलीले पनि पार्टीभित्र असन्तुष्ट खनाल-नेपाल पक्षलाई बाहिर राखेर शुक्रबार स्थायी कमिटी पुनर्गठन गरेको थियो। केन्द्रीय कमिटी विघटन गेरर दशौं महाधिवेशन आयोजक कमिटी बनाएका ओलीले स्थायी कमिटी पुनर्गठन गरेर धेरै नेतालाई चकित पारेका छन्। यससँगै एमालेमा विवाद थप उत्कर्षमा पुगेको छ।