कोरोना खोपले कति समयसम्म सुरक्षा प्रदान गर्छ ?

corona-vaccine-pic
लोकपाटी न्यूज

काठमाडौं। कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो। यो संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ।

हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले ‘कोभिड-१९’ को नाम दिएको छ। यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ।

कोरोना भाइरस रोगका मूख्य लक्षण

ज्वरो आउने (१००.४°F भन्दामाथि)
खोकी लाग्ने
श्वाश फेर्न गाह्रो हुने
यस्ता लक्षणहरू देखा परेमा नजिकको तोकिएको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्।

यी हुन् कोरोनाबाट बच्ने मूख्य तीन उपाय

सामाजिक दूरी : एक व्यक्तिबाट अर्को व्यक्ति २ मिटर टाढा बसौं
मास्क :  घरबाट बाहिर निस्कदाँ अनिवार्य रुपमा मास्कको प्रयोग सहि तरिकाले गर्ने गरौं
हातको सफाई : साबुनपानीले मिचिमिची २० सेकेण्डसम्म हात धोऔं, यदि साबुन पानी उपलब्ध नभए सेनिटाइजरको प्रयोग गरी हात धोऔं।

कोरोना भाइरसबाट कसरी आफू र अरुलाई बचाउने ?

-ज्वरो र खोकी लागेको व्यक्त्तिबाट टाढा रहने वा आफूलाई ज्वरो र खोकी लागेको छ भने पनि अरू व्यक्त्तिबाट टाढा रहने र मास्कको प्रयोग गर्ने।

-खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको फोहर फाल्ने भाँडोमा फाल्ने र साबुन–पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाईजर प्रयोग गर्ने।

-भिडभाडमा नजाने र अरुलाई पनि नजाने सुझाव दिने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने।

-बेलाबेलामा साबुन–पानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने।

-कोरोना प्रभावित देशबाट आएको व्यक्तिहरूमा माथिका लक्षणहरू देखिए स्वास्थ्य केन्द्रमा तुरून्त जानुपर्दछ। घरैमा बस्दा परिवारका सदस्यहरूबाट १४ दिन सम्म छुट्टै आईसोलेसनमा बस्नु पर्दछ।

कोरोना खोप के हो ?

कोभिड–१९ को महामारी नियन्त्रण गर्ने प्रयास स्वरूप नेपालमा पनि कोरोना खोप लगाउने काम जारी छ। खोपले भाइरस, रोग वा सङ्क्रमणसँग लड्न शरीरलाई तयार गर्छ। यसले शरीरको प्रतिरक्षात्मक क्षमतालाई आक्रमण गर्ने तत्त्वको पहिचान गर्न सघाउँछ। यसले एन्टीबडी उत्पादन गरेपछि धेरै बिरामी बनाउने सम्भावना कम हुन्छ तर मानिसहरूले केही असर अनुभव गर्न सक्छन्। अस्थायी खालको ज्वरो र दुखाइको महसुस हुनसक्छ। त्यसपछि तपाईँको शरीरमा रोगसँग लड्ने प्रतिरोधी क्षमताको विकास हुन्छ।

कोरोना खोपसँग सम्वन्धी प्रश्नका उत्तरहरु

१. कोरोना भाइरस रोग विरुद्धको खोप लिन जरुरी छ ?

यो खोपले कोरोना भाइरस रोग लाग्नबाट हामीलाई बचाउँछ। खोप लगाइसकेपछि यो रोग लागिहालेमा पनि गम्भीर बिरामी हुनबाट बचाउँछ। साथै, यो खोप लगाएपछि, तपाईंबाट अरुलाई कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउँछ। नेपालमा कोरोना भाइरस विरुद्धको यो खोप १८ वर्ष माथिका सबै उमेर समूहलाई सिफारिश गरिएको छ।

. के कोरोना भाइरस रोग निको भएकाले पनि यो खोप लगाउनुपर्छ ?

पर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरी यो संक्रमण हुन सक्ने हुनाले खोप लगाउनुपर्छ। संक्रमण निको भएपछि बन्ने एन्टिबडी शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने यकिन-थाहा नभएकोले पनि सबैले खोप लगाउनुपर्छ।

३. यो खोप कुन उमेर समूहलाई दिइन्छ ?

नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा चरणबद्ध रुपमा यो खोप १८ वर्षभन्दा माथिका सबैलाई तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निशुल्क दिइन्छ ।

४. के यो खोप लिएपछि फेरी कोरोना भाइरसको संक्रमण हुन्छ ?

हुन सक्छ। यो खोप लिएपछि पनि केहि व्यक्तिहरुमा कोरोना संक्रमण हुन सक्छ। तर खोप लिएपछि कोरोना संक्रमण भएतापनि यसबाट गम्भीर बिरामी पर्ने सम्भावना निकै कम हुन्छ। त्यसैले खोप लिएपछि पनि भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग, अर्को व्यक्तिसँग २ मिटर दुरी कायम गर्ने तथा बेलाबेलामा साबुन पानीले हात धुनेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालनालाई निरन्तरता दिनुपर्छ।

५. यो खोप कहाँ लगाउन पाईन्छ ?

यो खोप तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रहरूबाट निशुल्क दिइन्छ ।

६. यो खोप कसले लगाउनु हुँदैन ?

यो खोपको पहिलो मात्रा लिएपछि गम्भिर एलर्जी (एनाफाइलेक्सिस् प्रतिक्रिया) भएको व्यक्तिहरूले यसभन्दा अघि अरु कुनै खोप वा औषधिसँग गम्भिर एलर्जी (एनाफाइलेक्सिस्) प्रतिक्रिया भएको गर्भवती महिलाहरूलाई
यसका साथै १८ वर्ष मुनिका बालबालिकामा यो खोपको अनुसन्धान भइरहेकोले हाललाई यो समूहलाई खोप सिफारिश गरिएका छैन।

७. कुन कुन स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिन हुन्छ ?

दीर्घरोग जस्तै– मुटु, मस्तिष्क, फोक्सो सम्बन्धी रोग, मृगौला रोग, मधुमेह (सुगर) शिकलसेल एनिमिया र क्यान्सर रोग भएका रोग प्रतिरक्षा कमी भएका वा रोग प्रतिरक्षा कमि गर्ने औषधि सेवनकर्ताहरू एच.आई.भि. भएका यस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक छ। कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरुले यो खोप लिन जरुरी छ ।

८. यो खोप कत्तिको सुरक्षित छ ?

सुरक्षित छ। यो खोप विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्मालय र एस्ट्राजेनिकाले बृहत् वैज्ञानिक अनुसन्धानबाट विकास गरिएको हो। विश्व स्वास्थ्य संगठनले यो खोप आकस्मिक प्रयोगको लागि सिफरिस गरिसकेको छ ।

९. यो खोपको कति मात्रा लगाउनुपर्छ ?

यो खोपको दुई मात्रा लगाउनुपर्छ । पहिलो मात्रा लगाएको ८ हप्ता पूरा भएपछि १२ हप्ता भित्र दोस्रो मात्रा लगाउनु पर्दछ।

१०. यो खोप लगाएपछि के- के असरहरू देखिन सक्छन् ?

कोभिड–१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन् । यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महशुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने, आदि रहेका छन् । यस्ता सामान्य असरहरू विस्तारै ठिक भएर जान्छन्।

११. के यो खोपको पहिलो मात्रा लगाएपछि नै हामी सुरक्षित हुन्छौं ?

पूर्ण रुपले सुरक्षित हुन दोस्रो मात्रा पनि लगाउनैपर्छ ।

१२. यो खोपले कति समयसम्म सुरक्षा प्रदान गर्छ ?

खोपको कारणले वृद्धि भएकोे प्रतिरोधात्मक क्षमता कति समयसम्म रहन्छ भन्ने अझैपनि यकिन भएको छैन ।

१३. के यो खोप अभियानले नियमित खोप सेवालाई कुनै प्रभाव पार्छ ?

पार्दैन। यो खोप लगाउने समयमा पनि बालबालिका र गर्भवती महिलाहरूलाई दिइने खोप सेवा नियमित चलिरहन्छ।

१४. खोप सेवाका बारेमा थप जानकारी कहाँबाट पाउन सकिन्छ ?

आफ्नो क्षेत्रमा रहेका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा आमसञ्चारका माध्यमहरूमार्फत् कोरोना भाइरस रोग विरुद्धको खोप कहाँ, कहिले, कसरी र कसले पाउन सकिन्छ भन्ने जानकारी पाइन्छ। यदि तपाईं खोप पाउने प्राथमिकिकरणमा पर्नु भएको छ भने, समूह अनुसारको सूचिमा आफ्नो नाम भए नभएको स्वास्थ्य संस्था वा नगरपालिका वा गाउँपालिकामा गई यकिन गर्नुहोस्।
कोभिड–१९ खोपका बारेमा कुनै पनि जानकारीका लागि १११५ वा ११३३ मा सम्पर्क गर्नुहोला।

१५. के खोप लगाएपछि पनि जनस्वास्थ्यका मापदण्डहरु नियमित रुपले पालना गर्नु पर्छ ?

कोरोना खोप लगाएपछि स्वास्थ्य सुरक्षाका अभ्यासहरूः दूरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने र बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुने व्यवहारहरूको नियमित पालना गर्नैपर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्