सरकार तत्काल कोरोना खोप आपूर्तिमा लागोस् : देउवा

Sher_Bahadur_Deuba
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड-१९ का कारण उत्पन्न परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल आवश्यक उपाय गर्न सरकारसँग माग गरेका छन्। सोमबार विज्ञप्ति जारी गरेर देउवाले कोरोनाविरूद्ध आवश्यक मात्रामा खोप ल्याउन सरकारले कुटनीतिक पहल गर्नुपर्ने बताए।

उनले स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीको उपलब्धता र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न आवश्यक व्यवस्था मिलाउन पनि भनेका छन्। ‘संक्रमितहरूको उपचार पूरा गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ। यस अवस्थामा थप परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल कोभिड-१९ को संक्रमणलाई रोक्ने हरसम्भव उपाय गर्न म सरकारसँग माग गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।

आम नागरिकलाई कोभिडको संक्रमणबाट सुरक्षित राख्न खोप सबैभन्दा भरपर्दो उपाय रहे पनि सरकार समयमा गम्भीर नहुँदा समूचित व्यवस्था हुन नसकेको देउवाले आरोप लगाएका छन्। उनले भारत र चीनले निःशुल्क खोप उपलब्ध गराएको प्रति धन्यवाद दिएका छन्।

खोप उत्पादक संस्थाहरूसँग आवश्यकताभन्दा बढी संख्यामा अग्रीम बुकिंग गरेका विकसित राष्ट्रहरूलाई खोप सुविधा उपलब्ध गराएर सहयोग गर्न देउवाले आग्रह गरेका छन्। उनले कोरोना संक्रमणको जोखिमबाट जोगिन स्वास्थ्य मापदण्ड पूरा गर्न अपील गरेका छन्।