कसरी ढल्यो सोभियत संघ, को हुन् खलनायक येल्तसिन ?

Yeltsin russia
लोकपाटी न्यूज

काठमाडौं। एक जमानामा सोभियत संघ संसारकै शक्तिशाली, न्याय र समानतायुक्त समाजवादी संघ थियो। तर, १९९१ मा विश्वको सबैभन्दा शक्तिशाली सोभियत संघ ढल्यो। सोभियत संघको पतनसँगै पूर्वी यूरोप र विश्वका अन्य भूभागमा रहेका समाजवादी सत्ताहरु पनि ढले। जुन कुरा विश्वकै कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण शिक्षाका रुपमा पढिन्छ, बुझिन्छ।

सोभियत संघको गठन

सोभियत सङ्घको औपचारिक नाम सोभियत समाजवादी गणतन्त्रहरूको सङ्घ थियो। सन् १९२२ देखि १९८१ सम्ममा यो यूरेशियाको ठूलो भूभागमा फैलिएको देश थियो। उक्त संघ आफ्नो स्थापनादेखि १९९० सम्म कम्युनिस्ट पार्टीद्वारा शासित रह्यो। संवैधानिक रूपबाट सोभियत सङ्घ १५ स्वशासित गणतन्त्रहरूको सङ्घ थियो। तर, पूरै देशको प्रशासन र अर्थव्यवस्थामा केन्द्रीय सरकारको सन्तुलनकारी नियन्त्रणमा थियो। रूसी समाजवादी गणतन्त्र यसको सबैभन्दा ठूलो गणतन्त्र एवं राजनीतिक, सांस्कृतिक र आर्थिक केन्द्र थियो। यस अर्थमा संघको केन्द्रमा रुसको प्रभाव स्वाभाविक थियो।

सोभियत सङ्घको स्थापनाको प्रक्रिया १९१७ को रूसी क्रान्तिको साथ शुरू भएको थियो। जसमा फेब्रुअरी क्रान्तिका दौरानमा रूसी सम्राट जार र अक्टोबर क्रान्तिको दौरानमा पूँजीवादी शासक केरेन्स्कीलाई सत्ताबाट हटाइयो। सन् १९१७ को अक्टोबरमा लेनिनको नेतृत्वमा रहेको बोल्सेविक पार्टीले सत्ता कब्जा गर्‍यो। तर, साम्राज्यवादी मुलूकका लागि समाजवाद स्वीकार्य थिएन। त्यसैले साम्राज्यवादी सेनाको संयुक्त फौजले रुसमाथि हमला गर्‍यो।

केन्द्रीय सत्ता कब्जा गरिसकेपछि पनि रुसमा क्रान्ति जारी रह्यो। डिसेम्बर १९२२ मा बोल्सेविकको पूर्ण जीत भयो र लेनिनले रूस, युक्रेन, बेलारुस र काकस क्षेत्रको मिलाएर सोभियत सङ्घको स्थापनाको पहल लिए।

समाजवादको अभ्यास र विकास

सन् १९१८ मा लेनिनलाई क्यापलिनले गोली हानेपछि उनको स्वास्थ्य खराब हुँदै गयो। लेनिनमाथि गरिएको हमलाले शिशु अवस्थामा रहेको रुसी समाजवादको विकासका निम्ति नयाँ चुनौती पैदा गर्‍यो, यद्यपि सोभियत राष्ट्रहरुको एकता र समाजवादको सुदृढीकरणका लागि लेनिनले अनवरत प्रयत्न गरिरहे। सन् १९२४ मा लेनिनको मृत्यु भयो, जतिबेला उनी जम्माजम्मी ५४ वर्षका थिए। सोभियत संघका परिकल्पनाकार, एक कुशल राजनीतिज्ञ लेनिनको मृत्युपछि संघले फेरि नयाँ संकटको सामना गर्‍यो। यद्यपि, लेनिनका उत्तराधिकारीका रुपमा उदीयमान स्टालिनको पहलले रुसी समाजवाद र सोभियत संघको यात्रा अगाडि बढ्यो।

सन् १९३९–१९४५ को दोस्रो विश्वयुद्धले विश्वलाई २ शक्तिशाली शिविरमा विभक्त गरिदियो। यसपछि विश्व प्रष्ट रुपमा पूँजीवादी र समाजवादी २ अलग शिविरमा बाँडियो। विश्वयुद्धको समाप्तिपछि देखिएको शितयुद्धको प्रभाव सोभियत संघको विघटनसम्म जारी रह्यो।

स्टालिनकालमा पनि समाजवादी सत्ताको अभ्यासमा प्रशस्त सीमाहरु रहे। मुख्यतः अन्तरपार्टी जनवादको अभ्यासमा देखिएको एकमनावाद, समाजवादी संवैधानिक प्रबन्धभित्र नागरिक स्वतन्त्रताको प्रत्याभूति, कृषि र उद्योगको सन्तुलित विकासको अवधारणाजस्ता विषयमा स्टालिनमा देखिएको अधिभूतवादी दृष्टिकोण प्रतिक्रियावादीहरुका निम्ति आलोचनाको नयाँ हतियार बन्यो। सन् १९५३ मा स्टालिनको मृत्यु भएपछि निकिता ख्रुश्चोभले समाजवादी नीतिहरुमा व्यापक संशोधन गरे, जसले समाजवादको जग कमजोर पार्न थप भूमिका खेल्यो। सन् १९९१ को परिणामको भ्रूण सन् १९५६ को संशोधनवादी नीति थियो भन्ने मान्यता आजपर्यन्त उत्तिकै बलियो छ।

पूँजीवादी शिविरको आरोप थियो – कम्युनिस्टहरु क्रान्तिका लागि मात्र जन्मिएका हुन्, निर्माणमा यिनीहरुको कुनै कौशल र योगदान रहँदैन। तर, सोभियत संघ वैज्ञानिक अन्वेषणका क्षेत्रमा सबैभन्दा अगाडि देखियो। सोभियत सङ्घले सन् १९५७ मा विश्वको सबैभन्दा पहिलो कृतिम उपग्रह स्पुतनिक पृथ्वीको आसपास कक्षामा पुर्‍यायो। १९६१ मा सोभियत वायु–सैनिक युरी गागरिन पृथ्वीबाट माथि अन्तरीक्षमा पुग्ने सबैभन्दा पहिलो मानव बने।

शितयुद्धको प्रभाव

सोभियत संघको बढ्दो राजनीतिक, आर्थिक, सामरिक प्रभाव र अन्वेषणका क्षेत्रमा देखिएको प्रगति पूँजीवादी शिविरका निम्ति नयाँ चुनौती बनेर उभियो। साम्राज्यवादी शक्तिहरुले समाजवादी राष्ट्रहरुमाथि एकपछि अर्को प्रहार गरिरहे। सन् १९६२ मा क्युवाको मिसाइल प्रहारको विवादमा अमेरिका र सोभियत संघ भीडन्तको आमनेसामने उभिए। तर, १९७० ताका विवाद मत्थर भए पनि त्यो अस्थायी युद्धविराम मात्र थियो, जुन विवाद १९७९ मा अफगानिस्तानको मामिलामा फेरि ब्यूँतियो।

ख्रुश्चोवको उदयपछि सोभियत संघ पनि साम्राज्य बिस्तारको विनासकारी बाटोतिर अग्रसर भयो। अफगानिस्तानबाट सन् १९८९ मा रुसी फौज फर्किएपछि गोर्भाचोवले राजनीतिक खुलापनको नीति अघि सारे। त्यसका विरुद्ध गेन्नाडी येनायेभ, केजीबी प्रमुख भ्लादिमिर क्र्युचकोभ आदिले विद्रोह गरे। तर, विद्रोहमाथि चरम दमन गरियो। साम्राज्यवादी योजनामा अन्ततः गोर्भाचोव र येल्तसिनहरुले १९ अगस्ट १९९१ मा सोभियत संघ भंग भएको घोषणा गरे र संघ १५ वटा स्वतन्त्र गणराज्यमा टुक्रियो।

को हुन् येल्तसिन ?

बोरिस निकोलयविच येल्तसिनको जन्म १ फेब्रुअरी १९३१ तारिखमा रसियाको बुत्कामा भएको थियो। उनी सोभियत यूनियनका नेता एवं रुसी राजनीतिज्ञ थिए। कम्युनिस्ट शिविरमा उनलाई महाशक्ति राष्ट्र सोभियत सङ्घको बिघटन एवं बिसर्जन गराउने खलनायकका रूपमा लिने गरिन्छ। तर, पूँजीवादी शक्तिकेन्द्र उनलाई रुसमा कम्युनिस्ट प्रभाव रोक्ने नेताका रुपमा मान्दै आएको छ।

रूसी महासङ्घको नेतृत्वमा स्थापित भएपछि येल्तसिनले धेरै आलोच्य कामहरू गरे। तीमध्ये केही उदाहरण मात्र पनि उनको प्रवृत्ति हेर्न प्रयाप्त हुनेछन्।

येल्तसिन अवसरलाई आफ्नो पक्षमा राम्रोसँग उपयोग गर्न जान्ने अर्थात् अवसरवादी नेता हुन्। सोभियत कम्युनिस्ट पार्टीमा प्रवेश गरेर सबै सुविधाहरू लिँदै पार्टीको पोलिटब्युरो सदस्यसम्म पुगीसकेपछि रूसमा आउन लागेको परिवर्तनको छनक पाउनासाथ उनले कम्युनिस्ट पार्टीको साधारण सदस्यतासमेत त्यागेको घोषणा गर्दै आफूलाई प्रजातान्त्रिक खेमाको नेताको रूपमा उभ्याएर गद्दारी गरे।

उनले गरेको अर्को अदूरदर्शी निर्णय बेलारूसको एक रिसोर्टमा युक्रेन र बेलारुसका तत्कालीन राष्ट्रपतिहरूसँग गरिएको बेलाभेजा सन्धि हो। बेलाभेज्स्कमा सन् १९९१ को अक्टोबर महिनामा बरिस येल्तसिन, लियोनिद क्राभ्चुक र स्टानिस्लाव सुस्केविचले बेलाभेजा सन्धि गरेको दुई महिनापछि विधिवत सोभियत सङ्घ विघटन हुन पुगेको थियो। यो सन्धि सबैभन्दा पहिला अमेरिकी राष्ट्रपति जर्ज एच डब्लू बुस (प्रथम) लाई फोनबाट जानकारी गराइएको थियो।

सन् १९९० को मध्यतिर अमेरिका र विश्व बैङ्कको दबाबमा ७५ वर्षदेखि स्थापित ठूला–ठूला ग्यास, तेल कम्पनी, कलकारखाना र उद्योगधन्दा, राष्ट्रिय सञ्चार माध्यमसमेत कौडीको मूल्यमा निजीकरणका नाममा केही व्यक्तिहरूको स्वामित्वमा आयो। पश्चिमी अर्थशास्त्रीहरूले ‘सक थेरापी इन इकोनोमिक्स’ नाम दिएको यो निजीकरण अभियानले राज्यको अधिकतम् अर्थतन्त्र केही कुलीन युवाहरूको नियन्त्रणमा पर्न गयो।

येल्तसिनको शासनकालभरि रुसमा चरम भ्रष्टाचार र अराजकता ब्याप्त रह्यो। नागरिकहरूले शान्ति सुरक्षाको प्रत्याभूति गर्न सक्दैनथे। देश संगठित आपराधिक समूहको नियन्त्रणमा थियो। देश पूरै पूँजीवादी अराजकतामा फेरियो। समाजवादको पक्षमा उभिएकै र कम्युनिस्ट पार्टीको सदस्य भएकै कारण नरसंहारको कहालिलाग्दो परिदृश्य देखा पर्दै गयो।

गेन्नाडी येनायेभ, केजीबी प्रमुख भ्लादिमिर क्र्युचकोभ आदिले सन् १९९१ अगस्ट १९ मा सोभियत राष्ट्रपति मिखाइल गोर्वाचोभका विरुद्ध विद्रोह गरेका थिए। उक्त विद्रोहलाई दमन गर्न येल्तसिनले खलनायकको भूमिका खेलेका थिए।

येल्तसिन सोभियत संघको विघटनमा खलनायकको भूमिकामा उभिए। उनले समाजवादी अर्थव्यवस्थाका विरुद्ध निरन्तर प्रहार गरिरहे। यद्यपि, समाजवादी अर्थव्यवस्थाका विरुद्ध सन् १९८५ मै मिखाइल गोर्वाचोभले नैग्लासनोस्त र पेरेस्त्रोइका नामक सुधार अभियान सुरु गरेका थिए।

आफ्नो शासनकालका अक्षम्य अपराधका कारण येल्तसिन नागरिकसामु निकै त्रसित थिए। तसर्थ, जीवनको उत्तरार्धमा उनी आफ्नो विश्वासिलो उत्तराधिकारीको खोजीमा लागे, ताकि उसले आफ्ना अपराधप्रति आँखा चिम्लिदिओस्। प्रतिकूल स्वास्थ्यपछि १९९९ को डिसेम्बरमा उनले भ्लादिमिर पुटिनलाई सत्ता हस्तान्तरण गरे।

बोरिस येल्तसिनको मृत्यु २३ अप्रिल २००७ मा ७६ वर्षको उमेरमा मुटुको व्यथाबाट भयो। इतिहासले उनलाई समाजवादी व्यवस्था कमजोर पार्ने एक मतियारका रुपमा चिन्दछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्