नेपाली काँग्रेसले बोलायो पदाधिकारी बैठक

लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो बस्ने बैठक बोलाइएको काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा १४ औं महाधिवेशन तयारी, राष्ट्रियसभाको उपनिर्वाचनका लागि उम्मेदवार चयन र केन्द्र र प्रदेश सत्ता समीकरण लगायतका विषयमा छलफल हुने छ।

माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रियसभा सदस्यबाट पदमुक्त गरेपछि उक्त स्थानमा जेठ ६ गतेका लागि उपनिर्वाचनका मिति तय गरिएको छ।

आफ्नो उम्मेदवार जिताउन अन्य दलसँग सहकार्य गर्ने विषयमा पनि बैठकमा छलफल हुने छ। नेकपा एमालेले बादललाई नै उम्मेदवार बनाउने भएपछि काँग्रेसले बादलसँग प्रतिस्पर्धा गर्नका लागि अन्य दलसँग छलफल गरेर उम्मेदवार तय गर्ने छ।

वागमती प्रदेशका प्रदेशसभा सदस्यहरु, स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले मतदाता रहेको उपचुनावमा काँग्रेस उम्मेदवार निर्वाचन हुन एमालेका माधव नेपाल पक्षको भूमिका निर्णायक छ। एमाले पार्टीभित्रको चरम अन्तरविरोधका कारण माधव नेपाल पक्षका जनप्रतिनिधिले बादललाई मत नदिई क्रस भोटिङ गर्न सक्नेछन्।