काठमाडाैँ। नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको विषयमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले यसको नियन्त्रण र न्यूनिकरणका लागि निर्णय गर्न प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको छ। दिनदिनै संक्रमितको संख्या बढ्दै गएको अवस्थामा कस्ता रणनीति अपनाउँदा उपयुक्त हुन्छ भन्ने विषयमा प्रधानमन्त्रीलाई सीसीएमसीले ब्रिफिङ गरेको हो।
संक्रमण नियन्त्रणका लागि तत्काल लकडाउन गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने विषयमा प्रधानमन्त्रीले अवस्था हेरेर निर्णय गर्न सक्ने अवस्था छ। स्वास्थ्य मन्त्रालयले भने जोखिम कम नभएकाले लकडाउनसम्म गर्नुपर्ने सीसीएमसीलाई प्रस्ताव गरेको छ। सरकारले अहिलेको अवस्थामा लकडाउन गर्न सकिने अवस्था नभएको जनाएको छ। सीसीएमसीको ब्रिफिङपछि प्रधानमन्त्रीले कोरोना नियन्त्रणका लागि कस्तो कदम चाल्न सक्छन भन्ने विषयमा सबैको चासोको विषय बनेको छ।
अहिलेको भयावह अवस्थामा के गर्न सकिन्छ भन्दै सरोकार वाला सबैको उपस्थितीमा त्यस्तो जानकारी गराउने र कस्तो रणनीतिमा सरकार अघि बढ्ने भनेर छलफल भएको बैठकमा सहभागिले बताए। सीमा आउजाउमा कडाई हवाई उडानमा पनि नियन्त्रण र लकडाउन नै उत्तम उपाए भएको सुझाव पनि त्यहाँ दिइएको छ। जसरी हुन्छ व्यक्तिको आउजाउ कम गराउन पर्ने सुझाव सीसीएमसीको छ।
सीमा नियमनदेखि अन्य सबै प्रक्रियाको बारेमा जानकारी गर्दै प्रधानमन्त्री ओलीलाई छिट्टै लकडाउनमा जान पर्ने सुझाव दिएको एक सहभागिले बताए। यद्यपि, उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले अहिले भएको अवस्था जानकारी गराउने काम भएको मात्र बताउँदै भने लकडाउन गर्ने वा नगर्ने भन्ने बारेमा कुनै सिफारिस भएको जानकारी छैन। सबै सरोकारवाला पक्ष बसेर प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारेमा जानकारी गराएको उनले प्रष्ट पारे । ‘यो वा त्यो गर्ने भन्ने बारेमा कुनै सिफारिस भएको छैन। तर अवस्था जानकारी गराउने काम भएको छ,’ पाण्डेले भने, ‘त्यही आधारमा अडेर केही गर्ने भए प्रधानमन्त्री तथा मन्त्रीपरिषदले निर्णय लिन सक्ने अधिकार सधै छ।’
२४ घण्टामा थप २६ सय १८ जनामा कोभिड-१९ पुष्टि भएको छ। नेपालभर सात हजार ५ सय २५ पीसीआर परीक्षण गर्दा शनिबार यो संख्यामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ९७ हजार ८७ पुगेको छ। त्यस्तै कोभिडका कारण थप १४ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार १ सय ३६ जनाको कोरोनाका कारण मृत्यु भएको तथ्यांक छ। त्यस्तै थप ३६८ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म दुई लाख ७७ हजार १२३ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा १६ हजार ८२८ संक्रमित आइशोलेशनमा छन् भने ७१ जना क्वारेन्टाइनमा छन्।



लोकपाटी न्यूज

