काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली राणा भएको भए धरहराको नाम ‘केपी टावर’ रहने काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्ले बताएका छन्। शनिबार पुननिर्मित धरहराको उद्घाटन कार्यक्रममा बोल्दै आज ओली नभइ राणा भएको भए यो टावरको नाम ‘केपी टावर’ रहने उनले बताए।
उनले भने, ‘सायद आज ओली नभइ राणा भएको भए यो टावरको नाम केपी टावर हुन्थ्यो होला। किनकि त्यतिबेला राणाकालमा कसैको बोल्न सक्ने आँट थिएन, साहस थिएन।’ उनका अनुसार राणाकालमा जति पनि दरबार, ऐतिहासिक सम्पदा बने ती सबै राणाहरुमध्ये कसै न कसैका नाममा रहेका छन्।
राणाकालमा जे गर्यो त्यसैलाई साथ दिने, त्यसैलाई जयजयकार गर्ने प्रचलन रहेको पनि उनले बताएका छन्। तर, अहिले केही काम गर्दा खाेइराे खन्ने प्रवृत्ति रहेकाे बताए। पुरानो धरहरालाई संरक्षण गरेर राख्ने नयाँ धरहरालाई मौलिकता र ऐतिहासिक रूपमा झल्काउने काम भएको उनले बताए।
पहिलाे प्रधानमन्त्रीत्व कार्यकालमा प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको काम सम्पन्न गर्न असम्भव भएको पनि मेयर शाक्यले बताए। अुनसार ०७४ को निर्वाचनपछि पुनः प्रधानमन्त्रीमा नियुक्त भएपछि धरहराको काम सम्पन्न गर्न सफल भएकोमा उनले प्रधामन्त्रीलाई धन्यवाद समेत दिए।
पछिल्लो समय काठमाडौंं धुलो, धुवाँरहित भएको पनि उनको दाबी छ। गर्न सके केही पनि असम्भव नहुने बताउँदै काठमाडौंलाई हेर्नलायक बनाउने पनि उनले घोषणा गरेका छन्। साथै दरबार हाइस्कुल र रानीपाेखरी पनि पुनर्निर्माणपछि उद्घाटन सम्पन्न भइसकेको उनले स्मरण गराए।



लोकपाटी न्यूज

