काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सोमबारका लागि बोलाइएको छ। केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४ औं महाधिवेशन र राष्ट्रिय तथा प्रादेशिक राजनीतिबारे छलफल हुने बताइएको छ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशनलगायत विषयमा छलफल हुने कांग्रेस पौडेलले बताए।
कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौं गर्ने तालिका निर्धारण गरेको छ। महाधिवेशनका लागि पार्टीको गाउँ-नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ-नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते निर्धारण गरिएको छ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते र प्रदेश अधिवेशन आगामी आगामी साउन ६ गते तोकिएको कांग्रेसले जनाएको छ।



लोकपाटी न्यूज

