जनकपुर। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटारनजिक भएर बटुवा बाटो हिँड्नै छाडेको बताएका छन्। शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बटुवालाई पनि केन्द्रीय सदस्य बनाउन थालेपछि बालुवाटारनजिक भएर बटुवा बाटो हिँड्नै छाडेको उनले बताए।
उनले भने, ‘अल्पमत परेपछि ओलीले बाटो हिँड्ने बटुवालाई केन्द्रीय सदस्य बनाएका छन्। बटुवालाई केन्द्रीय सदस्य बनाउन थालेपछि बालुवाटारनजिक भएर बटुवा बाटो हिँड्नै छोडे।’ यसअघि नेता नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वायुपंखी घोडा चढ्दा पार्टी र लोकतन्त्र धरापमा पारेको आरोप लगाएका छन्। उनका अनुसार पार्टी फुट्न नदिन पटक-पटक भेटघाट गरे पनि ओलीको हठका कारण सफल हुन सकेको छैन। यसैगरी बालुवाटारको बालुवामा तेल नै नभएको पनि उनले बताएका छन्। उनले भने, ‘ बालुवाटारको बालुवामा तेल छैन। बालुवा जति पेले पनि तेल निस्किने अवस्था छैन। छलफल र भेटघाटमा ओली आफनो दम्भबाट पछाडि हट्न चाहेन।’
त्यस्तै नेता नेपालले भने, “प्रधानमन्त्री र अध्यक्षबाट हट्नुस् भनेको होइन। माधव नेपाललाई पद चाहिएको छैन। तर उहाँले माधव नेपालको हुर्मत लिने ? उहाँले आफ्नो शैली देखाउनुभयो। जेठ २ मा फर्किउँ भनेर मैले भनेको थिएँ। उहाँले त बैठकमा किन आउनुभएन ? भनेर पो भन्नुभयो। मैले किन नबोलाएको भनेर सोधेको उहाँले खबर गर्न खोजेको तपाईंहरुको मोबाइल बिग्रेको थियो कि क्याहो फोन लागेन भन्नुभयो।”
नेता नेपालले ओली एकताको पक्षमा नभएको बताए।
“ओली एकताको पक्ष्ँमा हुनुहुन्न। उहाँ माने मान् नमाने बाटो खुला छ जा भन्ने अवस्थामा हुनुहुन्छ,” नेपालले भने। “उहाँले बैठकमा बोलाउन खोज्दा फोन लागेर बिग्रेको थियो कि क्याहो ? भनेर सोध्नुभयो। मैले हामी ९० जनाकै फोन कसरी बिग्रियो ? टेलिकमले नै बिगारिदियो होला भनेर भनेँ,” नेपालले भने।



लोकपाटी न्यूज

