काठमाडौं। बुधबार र बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच भएको छलफल तिक्ततापूर्ण रुपमा टुंगिएपछि पार्टी एकता थप संकटमा पुगेको छ। बिहीबारको छलफलपछि नेता नेपाल आफ्नो समूहको गतिविधिका लागि जनकपरतिर लागेका छन्, यता प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एमालेको बैठक बोलाएका छन्।
शुक्रबार बस्ने एमालेको बैठकबाट ओलीले नेपाल समूहमाथि थप कार्वाही गर्ने चेतावनी दिइएको छ। नेपाल समूहका ३२ जना सांसदहरुलाई सोधिएको स्पष्टीकरणबारे आवश्यक निर्णय लिनसक्ने भन्दै ओलीले नेपाल आफूइतरका सांसदहरुलाई तान्ने प्रयास पनि जारी राखेका छन्।
यता नेपाल समूह नयाँ पार्टी दर्ताको अन्तिम तयारीमा रहेको स्रोतको दावी छ। अध्यक्ष ओलीले नेपाल समूहले अलग्गै पार्टी बनाइसकेका कारण सहमतिको सम्भावना नरहेको बताउँदै आएका छन्। नेता नेपालले ओलीले गरेको फागुन २८ को निर्णय सच्चाउन माग गरे पनि ओलीले नेपाल समूह सच्चिएर आए थप कार्वाही रोक्नेबाहेक अरु गर्न नसकिने जवाफ दिएका छन्।
ओलीसँग कुरा नमिलेपछि नेपाल समूहले समानान्तर कमिटीको काम तल्लो तहसम्म सकेर नयाँ पार्टी दर्ताको प्रक्रिया थालेको छ। केही दिनअघि सुदूरपश्चिममा गरिएको कार्यकर्ता भेटघाटमा नेता भीम रावलले ‘पार्टीको नाम र चिन्ह फरक पर्नसक्ने’ बताएका छन्। बुधबार नै नयाँ पार्टी दर्ताको काम सकिए पनि दर्ताअघि ओलीसँग निर्णायक वार्ता गर्न नेपालपक्षीय नेताहरुले सुझाएका थिए। नेताहरुको सुझावअनुसार नेपालले ओलीसँग भेट गरे पनि भेटमा कुनै सकारात्मक प्रगति हुन सकेन।
एमाले चार चिरा !
कानूनी रुपमा विभाजित भइनसके पनि एमाले राजनीतिक रुपमा ३ टुक्रामा फुटेको छ। एमालेमा तीन अलगअलग धारको नेतृत्व अध्यक्ष ओली, वरिष्ठ नेता नेपाल र उपाध्यक्ष वामदेव गौतमले गरिरहेका छन्। तर, एमाले कानूनी रुपमै विभाजित हुँदा पार्टी कम्तिमा चार चिरामा फुट्ने भन्दै दोस्रो पुस्ताका नेताहरुले एकतामा जोड दिएका छन्।
अंकगणितका दृष्टिले पार्टीभित्र ओली समूह शक्तिशाली भए पनि कानूनी विभाजन र सरकार परिवर्तनको परिस्थितिमा उक्त समूह रक्षात्मक बन्न सक्छ। नेपाल समूहतिर दवाव र प्रभावमा नपरेका नेता–कार्यकर्ता मात्र बाँकी रहेकाले विभाजित अवस्थामा पनि उनीहरुको शक्ति यथावत रहने कतिपयको विश्लेषण छ।
यता एकताका निम्ति अभियान चलाउँदै आएका उपाध्यक्ष वामदेव गौतमले समेत स्थानीय तहसम्म अलग्गै संरचना बनाएका छन्। एकता अभियान भनिए पनि बनाइएका संरचनाहरुको अवस्था र कार्यसूचि हेर्दा गौतमसमेत अलग्गै पार्टीको अभ्यासमा लाग्ने देखिएको छ। २०५४ को एमाले विभाजनमा गौतमलाई साथ दिएको मूल पंक्ति अहिले ओली र नेपाल समूहमा बाँडिएका कारण उनी पार्टीभित्र रक्षात्मक अवस्थामा छन्।
एमाले कानूनी रुपमा विभाजित भएको अवस्थामा तीनवटै समूहमा नलागेका नेता–कार्यकर्ताले नयाँ समूह बनाउन सक्ने सम्भावना पनि उत्तिकै छ। पहिलो पुस्ताका नेताहरुले केही गरेनन् भन्ने जनमत एमालेमा बढ्दै गएको देखिन्छ। ओली सरकारको बहिर्गमन र नयाँ सरकार गठनको परिस्थितिमा त्यस्तो समूहको जनमत थप बढ्न सक्छ। एमालेको नयाँ पुस्तामा चलेको बहसले त्यही कुरालाई इंगित गर्दछ।
बिहीबारको ओली–नेपाल र ओली–गौतम भेटसम्म आइपुग्दै एमाले विभाजनकै डिलमा छ, जुन परिस्थितिमा २०६९ ताका माओवादी थियो। फुट कति भयानक हुन्छ भन्ने कुरा माओवादीको विभाजनबाट शिक्षा लिन सकिने भन्दै नेपाल समूहका नेताहरुले अझै पनि ओली सच्चिएमा वाम एकता नै हुनसक्ने सम्भावना देख्न छोडिसकेका छैनन्।
२०६९ मा माओवादीबाट मोहन वैद्य नेतृत्वको टिम बाहिरिए पनि विभाजन त्यतिमै रोकिएन। वैद्यबाट फेरि विप्लवहरु बाहिरिए, प्रचण्डबाट डा. बाबुराम भट्टराई र लोकेन्द्र विष्टहरु। एमाले र माओवादीबिच एकता भई नेकपा बनेपछि फेरि गोपाल किराँती र आहुतिहरु बाहिरिए। त्यही स्थिति एमालेमा देखिन सक्ने भन्दै नेता–कार्यकर्ताले एमालेको एकता बचाएर माओवादीसहितका वामपन्थी शक्तिसँग फेरि एकता गर्नुपर्ने मत राख्न थालेका छन्।



लोकपाटी न्यूज

