काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच भएको छलफल बिना निष्कर्ष टुंगिएपछि दुवै समूह आ–आफ्नै रणनीतिअनुसार अघि बढ्ने भएका छन्। बुधबार र बिहीबार भएको छलफलमा कुनै प्रगति नभएपछि उनीहरु आफ्नै बाटो हिँड्न थालेका हुन्।
राजधानीमा बिहीबार करिब दुई घण्टा भएको संवाद बुधबारभन्दा पनि तिक्त भएर सकिएपछि यी दुई नेता आ–आफ्नै लय नछोड्ने उद्घोषसहित छुट्टिएका हुन्। नेता नेपालले अब सहमतिको सम्भावना सकिएको बताए। ‘हामीले पार्टी बचाउन जोड गरेका हौं। तर उहाँको मिल्ने कुरा छैन,’ उनले भने, ‘हिजोको कुराले बरु अलिअलि आशावादी भइएको थियो, आज झन् बिग्रियो। अबको भेटघाट र छलफलको कुनै टुंगो छैन।’
यी दुई नेताहरूबीच बुधबार भएको सम्वादमा ओलीले नेकपा एकीकरणदेखि प्रतिनिधिसभा विघटनयता कुनै पनि बेला आफूले सहयोग नपाएको गुनासो गरेका थिए। नेपालले पनि ओलीकै रवैयाका कारण पार्टी विभाजनको बिन्दुमा पुगेको बताएका थिए। नेपालले अहिले पार्टी एकताबद्ध राख्ने जिम्मेवारी अध्यक्षको हैसियतमा ओलीले लिनुपर्ने भन्दै त्यसका लागि ठोस प्रस्ताव ल्याउन माग गरेका थिए। उनले सहमतिको सालाखाला खाका मागेपछि ओली ‘फेरि भेटौंला’ भन्दै उठेका थिए।
नेपालले अब पार्टीलाई कसरी अघि बढाउने भनेर सोधेका थिए। लगत्तै ओलीले शुक्रबारको बैठकमा सहभागी भए बैठक स्थलमा छिर्न नरोकिने र फागुन २३ यता गरिएका सबै कारबाही फिर्ता गर्ने बताएका थिए। नेपालले भने फागुन २३ यता एमाले पार्टीका नाममा एकलौटी गरिएका सबै निर्णय फिर्ता लिए मात्रै सहमति जुट्न सक्ने अडान राखे। नेपालको उक्त अडान ओलीलाई मन परेन। उनले आफूलाई अप्ठ्यारो परेका बेला सहयोग गरेका माओवादी केन्द्रका नेताहरूलाई पार्टीबाट हटाएर अरूलाई स्वागत गर्न नसक्ने बताए। पार्टी निकै अगाडि बढिसकेको र अदालतले २०७५ जेठ ३ अघिको अवस्थामा पुर्याएको कुरा प्राविधिक मात्रै भएको प्रतिक्रिया दिए।
नेपालले फागुन २८ यताका सबै निर्णय खारेज गरी पुरानै अवस्थामा पार्टीलाई फर्काउनुपर्ने र त्यतिखेरकै कमिटीहरू ब्युँताउनुपर्ने माग राखिरहेका बेला अध्यक्ष ओलीले भने फागुन २८ मा बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकयता जिम्मेवारी प्राप्त गरिसकेका नेताहरूको जिम्मेवारी खोस्न नसकिने बताए। ‘त्यसो भए तपाईंसँग कुरा मिल्दैन,’ नेपालले भने। ‘भोलि डाकिएको आयोजक कमिटीको बैठकमा आउनुभयो भने कारबाही फिर्ता लिन्छु, अरू निर्णय यथावत् छन्,’ अध्यक्ष ओलीले दोहोर्याए।
त्यसपछि ओली बैठकस्थलबाट बाहिरिए, नेपाल ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडसँग करिब आधा घण्टा छलफल गरेर बाहिर निस्किए। दुगडले छलफल सकारात्मक भएको बताए पनि नेता नेपालले कुनै पनि सहमति नभएको प्रतिक्रिया दिए। उक्त छलफलबारे आफूनिकट नेताहरूलाई छोटोमा ब्रिफिङ गरेर नेता नेपाल जनकपुरतिर गए। कान्तिपुर दैनिकमा बिनु सुवेदीको समाचार छ।



लोकपाटी न्यूज

