काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ। नागपोखरीस्थित होटल मेरियटमा आज झण्डै डेढ घण्टा दुई नेताबीच वार्ता भएको छ।
बुधबार र आज भएको ओली-नेपालबीचको भेटले लामो संवादहिनता तोडेको छ। फुटको संघारमा पुगेको एमालेलाई एक राखिराख्न ओली र नेपालबीच वार्ता भइरहेको छ। नेपालले भेटमा पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा ठोस् प्रगति हुन नसकेको बताए।
‘बैठक यथास्थितिमै भयो। प्रगति केही भएको छैन,’ उनले भने , ‘विवाद समाधान गर्ने विषयमा कुराकानी अघि बढ्न सकेन।’ आजको बैठकमा पनि नेपालले फागुन २८ गते ओलीले गरेका निर्णय फिर्ता गरेर २०७५ जेठ ३ अघिको अवस्थामा फर्कनु पर्ने अडान दोहोर्याएका थिए।
यसअघि दुई नेताले होटलको कोठाबाट धरहरा हेरिरहेको तस्बिर सार्वजनिक भएको थियो। भेटवार्ताकै क्रममा दुई नेताले कोठाको झ्यालबाट धरहरा नियालिरहेको तस्वीर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेका थिए।



लोकपाटी न्यूज

