काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ। आज दिउँसो दुई नेताबीच एक्ला एक्लै भेट हुन लागेको हो।
वरिष्ठ नेता नेपालले भेटको समय टुंगो लागे पनि स्थान भने खुलाएनन्। केही बेरअघि आफूनिकट सांसदहरूसँगको छलफलमा उनले ओलीलाई भेट्न जान लागेको जानकारी गराएका थिए। ‘तर, उहाँले भेट्ने ठाउँबारे भने केही उल्लेख गर्नुभएन,’ एक सांसदले भने।
पछिल्लो समय तिक्ततापूर्ण सम्बन्धमा रहेका दुई नेताबीच बुधवार साँझ एक्ला एक्लै २ घण्टा छलफल भएको थियो। ‘हिजोको छलफलमा दुवै नेताले आआफ्नो धारणा मात्रै राख्नु भयो। आज फेरि भेटी असहमतिका विषयहरूमा थप छलफल गर्ने संभवना छ,’ नेपाल निकट स्रोतले भन्यो।
बुधवारको भेटपछि दुवै नेताले सो दुई घण्टे बसाइमा दुई नेताबीच के के कुराकानी भयो भन्नेबारे उनीहरूले स्पष्ट भने पारेका छैनन्। एमाले विभाजनको संघारमा पुगेको चर्चा चलिरहेका बेला प्रमुख दुई नेताबीचको संवाद सुरु भएको हो।



लोकपाटी न्यूज

