एमालेको केन्द्रीय कार्यालय आजदेखि थापाथलीमा

UML_Office_Thapathali
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको मुख्यालय आजदेखि थापाथली सरेको छ। धुम्बाराहीबाट थापाथली हाइटस्थित भाडाको नयाँ घरमा पार्टी केन्द्रीय कार्यालय सरेको हो।

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीमा पार्टीको सारिएको नयाँ कार्यालयको उद्घाटन गरेका छन्। नयाँ पार्टी कार्यालयको आफ्नो कक्षमा अध्यक्ष ओली एकछिन बसेर निस्किएका छन्।

थापाथली स्थित भाडाको घरलाई एमालेको केन्द्रीय कार्यालयका रुपमा ओलीले औपचारिक उद्घाटन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिएका छन्। त्यसअघि प्रधानमन्त्री ओलीले मदन नगर बल्खुमा बन्न लागेको पार्टी कार्यालयको शिलान्यास गर्ने गरेका थिए।

नयाँ पार्टी मुख्यालयमा अध्यक्ष, महासचिव, संगठन विभाग, प्रचार विभाग र विदेश मामिला प्रमुखसहितका १२ कोठा छन्। २०७२ को भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको कार्यालय भाडामा लिई सञ्चालन गरेको थियो।