एमालेका आधिकारिक कमिटी ब्यूँताउनै पर्छ : गोकर्ण विष्ट

gokarna- bista minister
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका सचिव गोकर्ण विष्टको सचिवालयले सचिव विष्टको नाम जोडेर आधारहिन खबर फैलाइएकोप्रति आपत्ति जनाएको छ। नेता विष्टले एमालेमा जारी विवादका बिच माधव नेपाल पक्षलाई छोडेको समाचार प्रकाशन भएपछि उनको सचिवालयले अनर्गल प्रचारको विश्वास नगर्न आग्रह गरेको हो।

‘उहाँ एमालेका सबै आधिकारिक कमिटीहरू ब्युँताएर विधि मार्फत जारी समस्या समाधान गर्नुपर्छ भन्नेमा दृढ हुनुहुन्छ, यसमा कुनै धारणा परिवर्तन भएको छैन। हुने कुरै भएन,’ विष्टका प्रेस संयोजक मदन खनालले भने, ‘यही धारणा सामूहिक धारणा पनि हो। अरू सबै अनर्गल प्रचार हुन्।’ अध्यक्ष ओलीले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका ३२ जना सांसदलाई स्पष्टीकरण मागेका थिए।

उक्त सूचिमा नेता विष्टको नाम थिएन। त्यसैलाई आधार बनाएर नेता विष्टले नेपाल समूह छाडेको र ओलीको पक्षमा उभिएको भन्दै केही सञ्चारमाध्यमले समाचार प्रकाशन भएको थियो। ‘उहाँ एमालेको एकता जोगाउनका लागि अन्तिम सम्म प्रयासरत हुनुहुन्छ। अदालतको फैसला अनुसार नेकपा एकतापूर्वको एमालेका आधिकारिक कमिटी ब्युँताएर पार्टीलाई विधि अनुसार चलाउनु पर्छ भन्ने मान्यता सहित माधव नेपाल समूहमै रहेर सक्रिय हुनुहुन्छ,’ नेपाल समूहका एक केन्द्रीय सदस्यले भने, ‘तर भ्रम फैलाएर परिस्थिति आफ्नो अनुकूल देखाउन उहाँको नाम जोडेर अनर्गल प्रचार गरियो।’

सांसदहरूमाथि कारबाहीको डण्डा चलाउने ओलीको निर्णय लगत्तै नेता विष्टले त्यसको विरोध गरेका थिए। उनले फेसबुक मार्फत आफ्नो मत प्रस्तुत गर्दै विनाकारण एकतर्फी रूपमा बढाइएका कारबाहीका श्रृखंलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको उल्लेख गरेका थिए। विचार र विधिबाट मात्रै पार्टी सञ्चालन गर्नुपर्ने भन्दै नेता विष्टले अदालतको फैसला अनुसार एमालेका तत्कालीन कमिटीहरू ब्युँताएर विधि मार्फत समाधान खोज्न आग्रह समेत गरेका छन्।

यसैबिच एकाध मिडियाले भने गोकर्ण विष्ट ओली पक्षमा लागेको आशय दिने खबरलाई व्यापक बनाउन भरमग्दुर प्रयास समेत गरिएको थियो। ‘लोकप्रिय नेताको नाम जोडेर खबर फैलाएर आफूलाई बलियो देखाउने गरी प्रचार गर्न खोजेको देखिन्छ,’ ती नेता भन्छन्, ‘तर यस्ता भ्रम फैलाउँदैमा सत्य बललिदैन, हिजो साँझको छलफलमा हामी सँगै थियौं। हाम्रो पक्षले उठाउँदै आएको विचार र विधिबाट पार्टी सञ्चालन गर्ने मान्यतामै उहाँ स्पष्ट हुनुहुन्छ।’