अचानक बालुवाटार किन पुगे योगेश भट्टराई ?

yogesh-bhattarai
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न योगेश भट्टराई बालुवाटार पुगेका छन्। नेता भट्टराई बुधवार दिउँसो ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।

भट्टराईसहित २७ सांसदलाई ओलीले मङ्गलवार मात्रै दुई दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधेका छन्। ओलीले नेपाल समूहका सांसदमाथि कारबाही प्रक्रिया सुरु गरेपछि एमाले विभाजनको सन्निकट पुगेको छ। प्रतिनिधिसभामा नेपाल पक्षका ३८ मध्ये ओलीले २७ सांसदलाई उस्तै व्यहोराको पत्र पठाउँदै जुनसुकै बेला कडा कारबाही गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन्।

नेपाल पक्षले स्पष्टीकरणलाई पार्टी विभाजनको प्रयास गरिएको निष्कर्ष निकालेका छन्। पार्टी विभाजनको सन्निकट पुगेको बेला भट्टराई बालुवाटार पुगेका हुन्। ओलीसँगको भेटमा भट्टराईले तिता मिठा कुरा बिर्सेर पार्टी फुटबाट जोगाउन आग्रह गरेका छन्। भेटबारे भट्टराईले भने, ‘मैले पार्टी अध्यक्षलाई भेटेर एमालेलाई एकताबद्ध बनाउने हिसाबले भूमिका खेल्नुस्, त्यसमा हाम्रो साथ सहयोग हुन्छ भनेको छु। एमालेको विभाजनबाट प्रतिक्रियावादीमात्र खुसी हुन्छन्, जनता निराश बन्छन् भन्ने कुरा राखेको छु।’

भट्टराईले पार्टी एकतालाई जोगाउनका लागि आफ्नो तर्फबाट सहयोग रहने बताएका छन्। उनले भने, ‘हिजो दुवै पक्षबाट हुन नहुने खालका तीता मीठा काम भएका छन्। तर आज तपाईंसँग जुन जिम्मेवारी छ त्यसमा तपाईँले उदार मनका साथ पार्टीलाई एकताबद्ध बनाउनुस्, संवाद गर्नुस् भनेको छु। उहाँले मेरो तर्फबाट भूमिका खेल्छु, सबैलाई पार्टीमा स्वागत छ। आउनुस् काम गरौँ भन्नुभएको छ।’