काठमाडौं। जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले जसपा फुट्ने सम्भावना नरहेको बताएका छन्। जसपा विभाजनतिर उन्मुख भएको चर्चा चलिरहँदा नेता कर्णले पाँच वर्षसम्म पार्टी नफुट्ने दाबी गरे।
उनले भने, ‘कानूनतः एकीकरण भएको पाँच वर्षसम्म पार्टी फुट्दैन, त्यसको सम्भावना छैन।’ जसपामा सत्ता समीकरणमा दुई धार देखिएका छन्। जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव दुवैतिर तानातानमा परे। सत्ता समीकरणको निर्णायक बनेपछि जसपा आन्तरिक विवादमा फसेको छ। पार्टीका दोश्रा तहका नेताहरू पनि दुई धारमा बाँडिएका छन्। यद्यपि जसपालाई अहिले दुवैतिर सत्ता साझेदारीको प्रस्ताव आएको छ।
जसपा सत्ता समीकरणको साँचो बनेपछि उसले उठाएको माग पूरा गर्न वर्तमान सरकारले प्रक्रिया अघि बढाएको छ। कुनै बेला तराई मधेस केन्द्रित दलहरू उठाएका मागको बारेमा सुन्नै नचाहने प्रधानमन्त्री केपी शर्मा ओली अहिले जसपाले उठाएका माग पूरा गर्न प्रक्रिया अघि बढाएका छन्। सत्ता जोगाउन ओलीले अहिले जसपाका अध्यक्ष ठाकुरसँग निकटता बढाउँदै गएका छन्। उनले ठाकुरलाई बोलाई बोलाइ भेट्ने गरेका छन्।
यसै गरी, उपसभामुखलगायत संवैधानिक आयोगमा भागबण्डा गर्न समेत प्रधानमन्त्री तयार भएको जसपाका नेताहरु बताउँछन्। जसपाका अध्यक्षद्वय यादव माओवादी केन्द्रसँग निकट देखिएका छन् भने ठाकुर ओलीसँग निकट देखिएका छन्। सत्ता समीकरणको निर्णायक बनेपछि आन्तरिक विवादमा फसेको जसपा दुई धारमा बाँडिएपछि फुटको संघारमा पुगेको चर्चा चलेको छ।
फुटको चर्चा चलेको बेला नेता कर्णले पाँच वर्षसम्म जसपा फुटन नसक्ने बताएका हुन्। जसपाको माग दुई/तीनमा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूलाई आश्वासन दिएको उनले बताए। माग सम्बोधन भएपछि सरकारमा जाने वा नजाने भन्नेबारे तय हुने उनको भनाइ छ।



लोकपाटी न्यूज

