काठमाडौं। नेकपा एमालेका सांसद राजबहादुर बुढाले पार्टी अध्यक्ष केपी ओलीले पार्टी एकताको पहल लिनुपर्ने बताएका छन्। पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमलाई बोलाएर अध्यक्ष ओलीले छलफल गर्नुपर्नेमा सांसद बुढाको भनाई छ।
एमालेलाई सशक्त बनाउन पार्टी नेतृत्वले सबैलाई समेट्न सक्नुपर्ने उनले बताए। सबैले पार्टी नेतृत्वलाई सघाउनु पर्नेमा पनि उनले जोड दिए। सांसद बुढाले नेता नेपालबिनाको एमाले जिउँदो नरहने पनि दाबी गरे। साथै ओलीबिनाको एमाले कल्पना गर्न नसकिने उनले बताए। ओली र नेपालले पार्टी विभाजन गरे जो जता लागे पनि कार्यकर्ताले दुःख पाउने उनको भनाई छ।
ओलीले वरिष्ठ नेता नेपाल पक्षधर २७ जना सांसदलाई मङ्गलवार स्पष्टीकरण सोधेका छन्। नेपाल पक्ष भनेर चिनिएका प्रतिनिधि सभाका ३५ सांसदमध्ये ८ जना सांसदलाई भने स्पष्टीकरण सोधिएको छैन। स्पष्टीकरणमा नपरेका मध्येका एक हुन राजबहादुर बुढा। उनले आफू ओली, नेपाल पक्षधर भन्दा पनि एमाले पक्षधर रहेको बताए।
‘सांसदहरूलाई किन स्पष्टीकरण सोधियो भनेर मैल भन्न सक्ने कुरा भएन। तर मैले कुनै सम्झौता गरेका कारण मलाई स्पष्टीकरण नसोधिएको होइन,’ शाहीले भने। केपी ओली र माधव नेपाल नमिले कम्युनिस्ट आन्दोलन सकिनेसमेत शाहीको भनाइ छ।
‘अहिले कोही यताउता लाग्दैमा समस्या समाधान हुने होइन। केपी ओलीले तत्काल वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमलाई बोलाएर पार्टी एकताको पहल गर्नुपर्छ। उहाँहरू मिल्नासाथ अहिले भइरहेका भेला र समानान्तर कमिटी सबै बन्द हुन्छन्,’ उनले भने,’केपी ओलीले राजबहादुर बुढालाई आफ्ना पक्षमा पार्नुभन्दा खनाल, नेपाल र गौतमलाई आफ्ना पक्षमा पार्नु पार्टीका लागि कयौँ गुणा फाइदाजनक हुन्छ। किनकि म त पार्टी एकताका लागि केन्द्रीय सदस्य र सांसद दुवै पद छोड्न तयार छु।’



लोकपाटी न्यूज

