कारबाहीका शृखंलाहरुले पार्टीमा संकट आयो : गोकर्ण विष्ट

Gokarna Bista-4
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले नेता गोकर्ण विष्टले एकतर्फी र बिनाकारण सांसदहरूमाथि गरिएको कारबाहीका घटनाले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको बताएका छन्। संवादहीनता र कारबाहीले पार्टीमा देखिएको समस्या समाधान नहुने विष्टको भनाइ छ। एमालेले मंगलबार माधव नेपालसहित २७ संघीय सांसदलाई स्पष्टीकरण सोधेको छ।

त्यसलगत्तै विष्टले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विगत केही समय यता नेकपा एमालेमा देखापरेका समस्याहरुको समाधानका लागि संयमित र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को एकतर्फी र बिनाकारण सांसदहरुमाथि कारबाहीका घटनाहरु अघि बढाइएको छ। यस्ता कारबाहीका शृखंलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ। संवादहीनता र कारबाहीको बाटो कुनै पनि हालतमा समाधान हुन सक्दैन।’

उनले अदालतको फैसलाबमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर एकता जोगाउन आग्रह गरेका छन्। उनले भने, ‘अदालतको फैसलाबमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट सञ्‍चालन गरेर नै एकता जोगाउन सकिन्छ। एउटा इमान्दार कार्यकर्ताका लागि पदीय हैसियतभन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथि हुन्छ।’

विष्टले अघि भने, ‘यसर्थ एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहनाबमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँताएर विधि मार्फत समाधान खोज्न म आग्रह गर्दछु। पार्टी एकताको रक्षा गरौं।’ विष्टलाई भने एमालेले स्पष्टीकरण सोधेको छैन।