काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण पेस गर्न पत्र काटेपछि नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसदहरुको बैठक बोलाएका छन्। विभिन्न आरोप लगाउँदै ओलीले स्पष्टीकरण सोधेपछि नेपालले सांसदहरुको बैठक बोलाएका हुन्। बैठक आजै बानेश्वरस्थित अर्याल होटलमा सुरु हुने बताइएको छ।
ओलीले पार्टी विधान र सरकारविरुद्ध अनुशासनहिन, अराकज र अपराधिक क्रियाकलापमा नेतृत्व गरेको आरोपसहित मंगलबार नेता नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेका छन्। यस्तै ५ जना कर्णाली प्रदेशका सांसदलाई पनि स्पष्टीकरण सोधिएको छ।
ओलीले नेता माधवकुमार नेपाल समूहले छुट्टै राजनीतिक दल गठन गरेको आरोप पनि लगाएका छन्। पार्टीको हितविपरीत वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टीको विधान निर्णयविपरीत गुटबन्दी तथा षडयन्त्र गरेको आरोप लगाइएको छ।
एमाले पार्टीको नाम र सुर्य निर्वाचन चिन्ह दुरुपयोग गरी राजनैतिक विचारधारा, दर्शन र कार्यक्रमभन्दा भिन्न गतिविधि संचालन गरेको दाबी पत्रमा छ। ‘एमालेको केन्द्रीय कमिटीको दशौं, एघारौं र बाह्रौ बैठकहरूको निर्देशनको अवज्ञा गरी, बैठकका निर्णयबारेमा विभिन्न भ्रम सृजना गरी पार्टीको विधान र निर्देशनविपरीत नयाँ राजनैतिक दलको स्वरुपमा भेलाहरू आयोजना गर्न अग्रसरता लिई पार्टी र पार्टीको एकता विरोधी प्रस्तावमा संलग्न हुनुको कारण के हो ?,’ पत्रमा सोधिएको छ।



लोकपाटी न्यूज

