फेरि संसद भंग गर्न ओली जे पनि गर्न सक्छन् : जनमोर्चा

chitra-bahadur kc
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली पुनर्स्थापित संसदका विरुद्ध रहेको आरोप लगाएको छ। मंगलबार एक विज्ञप्ति जारी गरेर जनमोर्चाले पुनर्स्थापित संसदलाई निष्प्रभावी बनाउने प्रधानमन्त्री ओली लागि परेको आरोप लगाएको हो। चालु संसद् अधिवेशनलाई कामविहीन बनाएर अन्त्य गरिनुले ओली सरकार पुनर्स्थापित संसद् विरुद्ध रहेको पुष्टि हुने उसको भनाई छ।

संसदले उठाएका विषयमा कुनै सुनुवाइ नगरी अधिनायकवादी शैली अपनाएर संसदलाई पङ्गु बनाउने काम भएको जनमोर्चाको भनाई छ। संसद भंग गर्ने सर्तमा ओली अन्य शक्तिहरूको जुनसुकै सर्त मान्ने स्तरसम्म झरेको आरोप पनि उसले लगाएको छ ।

‘संसद्को पुनर्स्थापना भए पनि ओली पुनर्स्थापित संसदका समेत विरुद्ध रहँदै आएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘पुनर्स्थापित संसदलाई निष्प्रभावी बनाउने उद्देश्यले सरकारले संसद् अधिवेशन सुरु भएदेखि नै संसदलाई कुनै बिजनेस (काम) नै नदिई पङ्गु बनाउने र संसदले उठाएका विषयमा कुनै सुनुवाइ नै नगरी अधिनायकवादी शैली अपनाएका थिए र छन्। त्यही नीतिको परिणाम संसद भंग गर्ने सर्तमा ओली अन्य शक्तिहरूको जुनसुकै सर्त मान्ने स्तरसम्म झरेका छन्।’

विद्यमान संसदप्रति ओलीको नकारात्मक दृष्टिकोणको परिणाम नै संसद् अधिवेशनको अवधिभर संसद्मा उठेका विषयहरूको जवाफ नै नदिई ओलीले संसद अधिवेशन अन्त्य गरेको पनि जनमोर्चाको आरोप छ।