काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु हिउँदे अधिवेशन अन्त्य गरेपछि तत्कालका लागि नयाँ सरकार गठनको सम्भावना टरेको छ।
चालु अधिवेशनमा विपक्षी दलले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने भनिए पनि त्यसमा तत्काल सहमति जुट्न नसकेका कारण केही दिनका लागि प्रधानमन्त्रीको कुर्सी जोखिएको छ। ओलीले विपक्षी दलले अविश्वासको प्रस्ताव दर्ता गर्नसक्ने छनक पाएकै कारण हठात् अधिवेशन अन्त्य गरेका थिए।
सभामुख अग्निप्रसाद सापकोटाले सरकारले सभामुखसँग परामर्श नगरी अधिवेशन अन्त्य गरेको बताएका छन्। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले समेत ओलीको कदमप्रति खेद प्रकट गर्दै सरकारले अलोकतान्त्रिक चरित्र देखाएको दावी गरेको छ। तर, सरकारले संसदका लागि कुनै ‘बिजनेश’ नभएको भन्दै अधिवेशन अन्त्यको सिफारिस गरेको थियो।
एकातिर सरकारले अध्यादेशका भरमा शासन गर्ने अर्कोतिर संसदले ‘बिजनेश’ नपाउने कुरा आफैमा विरोधाभाषपूर्ण छ। प्रधानमन्त्री ओली एमसीसी सम्झौतालाई संसदमा पेश गरी पारित गर्न चाहन्थे। तर, देशको बहुमत हिस्सा एमसीसीका विपक्षमा रहेका कारण सभामुख सापकोटाले एमसीसी सम्झौता संसदमा प्रस्तुत गरेका छैनन्। सरकारले एमसीसी संसदमा पेश नहुने देखेपछि अधिवेशन नै अन्त्य गरेर सभामुखमाथि बदला लिएका छन्।
हिउँदे अधिवेशन अन्त्य भएपछि अब जेठ १५ भित्र संसदमा नीति तथा कार्यक्रम र बजेट पेश गर्ने तयारीमा जुटेको छ। तीन वर्षको बजेट निकै अलोकप्रिय र दलाल पूँजीवादको पक्षमा भएको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना हुँदै आएको छ। गत निर्वाचनमा नेकपाले घोषणापत्रमा उल्लेख गरेका कुनै पनि नीति बजेटमा नसमेटिएको भन्दै सरकारको आलोचना हुँदै आएको थियो। त्यसैले यसपालि ओलीले बितरणमुखी बजेट ल्याएर चुनावी जनमत आफूतिर तान्ने गृहकार्यमा लागेका छन्।
अघिल्लो वर्ष नेकपाकै नेताहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनालहरुले सरकारले सामाजिक सुरक्षामा बृद्धि गर्नुपर्ने र समाजवादउन्मुख नीति, कार्यक्रम अघि सार्नुपर्ने कुरामा जोड दिँदै आएका थिए। तर, पूँजीवादी क्याम्पबाट अर्थमन्त्रीको कुर्सीसम्म आइपुगेका तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको सल्लाहमा ओलीले नेकपाका कुनै पनि कार्यक्रम बजेटमा समावेश गरेनन्।
यसपटक नेकपाको एकता प्रक्रिया भंग भएको र राजनीतिक रुपमा नेकपा (एमाले) समेत ३ समूहमा फुटेका कारण ओलीमाथि लोकप्रिय बजेट ल्याउन दवाव परेको छ। यसअघि आयोजित एक सार्वजनिक समारोहमा ओलीले सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने घोषणा गरिसकेका छन्। तर, ओलीले बितरणमुखी बजेट ल्याउँदा त्यसको प्रत्यक्ष असर विपक्षी दललाई पर्नेछ।
नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलले आर्थिक वर्ष २०७८/०७९ को बजेटअघि नै ओली सरकार बिस्थापन गर्ने गृहकार्य गरेका छन्। हिउँदे अधिवेशन ओलीले हठात् अन्त्य गरे पनि आगामी बजेट अधिवेशन नै ओलीका लागि पेचिलो बन्नसक्ने देखिएको छ। सरकारले नीति तथा कार्यक्रमको गृहकार्य गरे पनि अधिवेशनमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश भएमा फेरि नयाँ सरकारले नयाँ नीति तथा कार्यक्रमको तयारी गर्नेछ।
यसो गर्दा आगामी आर्थिक वर्षको नीति, कार्यक्रमको समय लम्बिने सम्भावना रहन्छ। यद्यपि, सरकार गठनमा ठोस सहमति जुटेमा नयाँ गठबन्धनका दलहरुले नीति तथा कार्यक्रम र नयाँ बजेटको समेत एकसाथ गृहकार्य थाल्नसक्ने माओवादी केन्द्रका एक नेताले बताए।



लोकपाटी न्यूज

