काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बेला निर्वाचन हुनसक्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकले चुनावका लागि तयारी अवस्थामा रहन निर्देशन दिएकाे एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
ज्ञवालीले भने, ‘कुनै पनि बेला चुनावमा जानुपर्ने भएका कारणले त्यसका लागि तयार हुनका निम्ति पार्टी पङ्क्तिलाई आह्वान गरेको छ। विभाजनकारी गतिविधिमा लागेका साथीहरूलाई ती गतिविधि बन्द गरेर पार्टी एकतालाई सुदृढ गर्न फेरि पनि फर्किनका निम्ति आह्वान गरेको छ । नफर्के कारबाहीको विषय बन्ने कुरा उल्लेख गरिएको छ।’
पार्टीको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा उक्त कुरा बताएका हुन्। प्रतिवेदनमा कुनै पनि बेला निर्वाचन हुनसक्न भएकाले कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ। बैठकले ओलीको उक्त प्रतिवेदन पास पनि गरेको छ।
ओलीले आफ्नो प्रतिवेदनमा प्रतिनिधि सभा पुनस्र्थापना भएपनि देशमा राजनीतिक स्थायित्व र वर्तमानमा देखिएको समस्या समाधान हुने संभावना कम रहेको पनि ओलीको प्रतिवेदनमा उल्लेख गरिएको एक एमाले नेताले बताए। ओलीले प्रतिवेदनमा सर्वोच्च अदालतले कानूनी हिसाबले पार्टी एकता टुंग्याएको भएपनि राजनीतिक र संगठनात्मक रुपमा पहिल्यै विभाजित भएको उल्लेख गरेका छन्।
ओलीको प्रतिवेदनमा आफू नेतृत्वको सरकारको ३ वर्षे कार्यकालको समीक्षा समेत गरिएको छ। जसमा सरकारले महत्वपूर्ण उपलब्धी हासिल गरेको उल्लेख छ । बैठकले पाटीृको संठनात्मक प्रतिवेदन पनि पास गरेको छ । जसमा साउनमा विधान सम्मेलन गर्ने समेत कार्यतालिका छ। महाधिवेशन आयोजक कमिटीको अर्को बैठक वैशाख १० गते बस्ने निर्णय पनि बैठकले गरेको छ।



लोकपाटी न्यूज

