काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। कांग्रेस, माओवादी केन्द्रको गठबन्धन र जनता समाजवादी पार्टीले मुख्यमन्त्री पोखेरलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।
लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका सांसद कुलप्रसाद केसी ‘सोनाम’लाई प्रस्ताव गरिएको छ। ‘मुख्यमन्त्रीविरुद्ध तीन दलले अविश्वासको प्रस्ताव दर्त गरेका छौं,’ जसपा संसदीय दलका नेता सहसराम यादवले भने, ‘नयाँ मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ।’
८७ सदस्यीय लुम्बिनी प्रदेशमा अहिले ८५ सदस्य कायम छन्। दुई जना सांसद नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेपछि उनीहरुलाई पदमुक्त गरिएको छ। प्रदेशमा एमालेका ४१ जना, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्।



लोकपाटी न्यूज
