काठमाडौं। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले हठात् संसद् स्थगित गरेर संसद्को मानमर्दन गरेको बताएका छन्। प्रेस युनियनद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले सरकारले संसद् फेस गर्न नसकेर पटक-पटक संसदमाथि प्रहार गर्नु कायरता प्रदर्शन भएको बताएका हुन्।
अलोकतान्त्रिक कदम उठाउने सरकारले फेरि पनि संसदीय व्यवस्थामाथि अर्को प्रहार गरेको उनको भनाइ छ। नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास समेत जारी राखेको बताए। उनले ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास गरिरहेको र सबै मिलेर त्यसको प्रतिवाद गर्नुपर्ने बताए।
सिंहले भने, ‘ओली सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास गरिरहेको छ। सबै मिलेर प्रतिवाद गर्नुपर्छ।’ साथै उनले पत्रकारहरूले वास्तविक, निष्पक्ष ढंगले कलम चलाई देश र जनताको पक्षमा काम गर्नुपर्ने बताए। फरक प्रसंगमा नेता सिंहले कोरोना नियन्त्रणमा सरकार उदासीन भएको बताए।
‘ओली सरकारले राजनैतिक र नैतिक दृष्टिकोणबाट सरकारमा रहिरहने वैधानिकता गुमाइसकेको छ,’ उनले भने, ‘यो सरकारले देश र जनताको पक्षमा काम गर्न सकेन।’ साथै नेता सिंहले अब देशलाई निकास दिलाउन नेपाली काँग्रेसको नेतृत्वमा सरकार भन्नुपर्ने बताए।
‘संविधान मिच्न अनि सरकारमा बसिरहने यो सरकारसँग नैतिकता अलिकति पनि छैन। नैतिकता गुमाएका व्यक्तिलाई प्रधानमन्त्री मानिरहन सकिन्न,’ उनले भने।



लोकपाटी न्यूज
