ओली सरकार अब धेरै दिन टिक्दैन : डा. संग्रौला

Dila_sangraula
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताप्रति सरकारात्मक भएको जानकारी दिएकी छिन्। बागलुङमा आइतबार आयोजित अन्तरक्रियामा संग्रौलाले वर्तमान सरकारले एमसिसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कांग्रेसको साथ रहने जानकारी दिए।

‘एमसिसीप्रति कांग्रेस सकारात्मक छ। विकास र समृद्धिका लागि कांग्रेस बाधक छैन,’ उनले भने। संग्रौलाले एमसीसी नेपालको हितमा आएको परियोजना भएकोले पास गर्नुपर्ने बताइन्। उनले केपी शर्मा ओली सरकारको विकल्पमा कांग्रेसले नेतृत्व लिने र विकास निर्माणको गति बढाउन एमसीसी पास गर्ने कांग्रेसको योजना रहेको बताइन्।

संग्रौलाले प्रधानमन्त्री केपी ओलीको सरकार धेरै दिन नटिक्ने दाबी पनि गरिन्। सरकारले सत्ता टिकाउन पैसाको खोलो बगाएको उनले आरोप लगाइन्। अब कांग्रेसको नेतृत्वमा सरकार गठन हुने उनको दाबी छ। ‘अधिनायकवादविरुद्ध प्रदेशबाट सन्देश दिने काम सुरु भएको छ, हेर्दै जानुहोस्, अब अन्य प्रदेशमा पनि नयाँ सरकार आउँ छ,’ उनले भनिन्, ‘अभिव्यक्ति स्वतन्त्रतामाथि हस्ताक्षेप गर्ने, संविधानमाथि प्रहार गर्ने सरकार अब धेरै दिन टिक्दैन। केपी ओलीलाई हटाउने खेल कर्णाली र गण्डकी प्रदेशबाट सुरुवात भयो।’

संग्रौलाले केपी ओलीलाई नक्कली राष्ट्रबाद र नैतिकता हराएको नेता भएको आरोप समेत लगाइन्। ‘नारामा राष्ट्रवाद फलाक्ने, तक्मा दिँदा चुच्चे नक्सा हराउने ?,’ उनले भनिन्, ‘सामन्त गोयलसँग गरेको राष्ट्रघाती सम्झौता हैन भन्न किन नसकेको ?’ उनले प्रधानमन्त्रीलाई कुर्सीमा बस्ने कुनै नैतिकता बाँकी नरहेको दाबी गरिन्। बालुवाटारमा बसेर रिमोट थिचेर विकास सम्भव नहुने भन्दै जनताको घरदैलोमा पुग्न समेत उनले आग्रह गरिन्। रिमोटबाट गरिएका शिलान्यास र उद्घाटन सबै नक्कली विकास भएको उनको टिप्पणी थियो।