प्रधानमन्त्री हुने अवस्था आए तयार छौं : देउवा

Sher_Bahadur_Deuba
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्न लालायित नभएको बताएका छन्। आइतबार श्रीराम श्रेष्ठद्वारा लिखित कृति ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ विमोचन कार्यक्रममा सभापति देउवाले आफू प्रधानमन्त्री बन्न लालायित नभएको बताएका हुन्।

यद्यपि कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने उनको भनाइ छ। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेकाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि देउवाले बताए। उनले आफू प्रधानमन्त्रीका लागि मरिमेटेर नलाग्ने पनि बताए।

‘प्रचण्डजीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले ओली सरकार बहुमतमै छ,’ उनले भने, ‘बहुमतको सरकार भएका बेलामा हामीले अरु कुनै सोच्ने कुरा छैन। त्यसकारण हामीले बहुमतकै सरकार मानेका छौं। बहुमतको सरकारमा हामीले निहुँ खोज्ने कुरा छैन। हामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा पनि छैन।’

उनले राजनीतिक परिस्थिति बद्लिएर भोलि कांग्रेसले नै नेतृत्व गर्नुपर्ने अवस्था आए पछि नहट्ने स्पष्ट पारे। देउवाले वर्तमान राजनीति तरल अवस्थामा रहेको भन्दै स्थिति यतै जान्छ भनेर भन्न सकिने अवस्था नरहेको बताए।