काठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बाेलाएकाे सर्वदलिय बैठक सकिएकाे छ। बैठकमा प्रधानमन्त्री ओलीलाई जारी राजनीतिक गतिरोधलाई छिटो निकास दिन नेपाली काँग्रेसले सुझाव दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे साे बैठकमा काँग्रेसले लामो समय राजनीतिक संकट निम्तिँदा अन्य क्षेत्रमा पनि असर पर्ने भन्दै छिटो गतिरोध अन्त्यका लागि पहल गर्न ओलीलाई सुझाव दिएको हो ।
बैठकपछि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले सरकारलाई राजनीतिक गतिरोधबारे चाँडो निकाश दिन सुझाएको बताए। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको आलोचना गरेका छन्। ओलीले सभामुख सापकोटाले संसदलाई बन्धक बनाएको आरोप लगाएका हुन्। बैठकमा भाग लिएर बाहिरिएपछि राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री ओलीले सभामुखले सरकारलाई कामै गर्न नदिएको गुनासो गरेको सञ्चारकर्मीसँग बताए।
‘सभामुख अराजक बन्नुभयो, उहाँले संसदलाई बन्धक बनाएर सरकारलाई कामै गर्न दिनुभएन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै डा. लोहनीले भने, ‘यसको निकास कसरी खोज्ने भनेर दलहरूसँग राय माग्नुभयो। सर्वदलीय बैठकमा उहाँले सभामुखप्रति आक्रोश पोख्नुभयो।’
प्रधानमन्त्री ओलीले सरकारले सोचेअनुसार, संसद्मा काम हुन नसकेको बताए। एमसीसी लगायतका विषयमा सभामुख सापकोटाले संसद्मा काम गर्न नदिएको उनको भनाइ थियो। यस्तै बैठकमा कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न, तत्काल राष्ट्रियसभाको बैठक बोलाउन, प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया अघि बढाउन पनि काँग्रेसले माग गरेको बताए। उनले प्रतिनिधिसभामा रिक्त रहेका पदहरुमा उपनिर्वाचन गर्नेबारे पनि छलफल भएको बताए।
सर्वदलिय बैठक भनिएपनि बैठकमा चार पूर्वप्रधानमन्त्रीले सहित जसपा नेताहरुले बहिष्कार गरेका थिए। बैठकलाई पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले बैठक बहिष्कार गरेका हुन्। त्यस्तै जसपा नेता उपेन्द् यादव पनि बैठकमा सहभागी भएका थिएनन्। सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जसपाका अध्यक्ष महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी भएका छन्।



लोकपाटी न्यूज

