प्रधानमन्त्रीले बाेलाएकाे सर्वदलिय बैठकमा चार पूर्वप्रधानमन्त्री अनुपस्थित

फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएकाे सर्वदलीय बैठकलाई चार पूर्वप्रधानमन्त्रीले बहिष्कार गरेका छन्। बैठकलाई पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले बैठक बहिष्कार गरेका हुन्।

बैठकमा जाने नजानेबारे अन्योलमा देखिएका काँग्रेस सभापति शेरबहादुर देउवा भने सहभागी भएका छन्। केपी ओलीसँग विमती भएपनि प्रधानमन्त्री पदको गरिमा राख्न बैठकमा जानुपर्ने शीर्ष नेताको सुझावपछि देउवा बालुवाटार पुगेका हुन्।

बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनी र जनमोर्चाका प्रतिनिधि सहभागी रहेको बताइन्छ। प्रधानमन्त्री ओलीले संसद अधिवेशन, कोरोना महामारीलगायत पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन्। तर, प्रमुख नेताहरू नै नगएपछि बैठकको औचित्य नदेखिएको बताइएको छ।

त्यस्तै नेकपा माओवादी केन्द्रले आफूहरुलाई सर्वदलीय बैठकबारे जानकारी नदिइएको बताएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव पनि बैठकमा सहभागी छैनन्।